काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले धितोमा रहेको ग्लोबल आईएमई बैंकको संस्थापक सेयर लिलामीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाबाट ऋण लिएका ऋणीको धितोमा रहेको ग्लोबल आईएमई बैंकको १४ हजार ९४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
निज ऋणीले सेयर कर्जा लिएबापत संस्थालाई बुझाउनुपर्ने सावाँ,ब्याज लगायतका अन्य रकम नबुझाई कर्जासँग सम्बन्धित शर्तहरु उल्लंघन गरेकाले र पटक पटक सम्पर्क गर्दा समेत रकम चुक्ता भुक्तानी नगरेकाले ऋणीले कर्जा लिदा धितोको रुपमा राखेका ग्लोबल आईएमई बैंकको संस्थापक सेयर लिलामी गर्न लागिएको कम्पनीले जनाएको छ ।
यो सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनी वा अन्य कम्पनी तथा संघ संस्थाहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति असार १२ गते रहेको छ । लिलाम शिलबन्दी बोलपत्र संस्थाको बत्तिसपुतलीमा रहेको शाखा कार्यालयमा असार १३ गते खोलिने संस्थाले जनाएको छ ।