काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषहरुमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो ।
केन्द्रीय बैंकले कुल १३ करोड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो । यो रकम २०८१ असार २ गतेदेखि २०८२ असार २ गते गतेसम्म (१ वर्ष) अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैङ्कमा १० करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा १ करोड ९८ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा ६६ लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।
इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी जेठ १६ गतेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।
मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।
यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।