काठमाण्डौ । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुको आधारदर एकल अंकमा झरेको छ । बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बैंकहरुको आधारदर एकल अंकमा झरेको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिन थालेको । तर निक्षेपको तुलनामा बैंकहरुबाट प्रवाह हुने कर्जा भने त्यहि अनुपातमा प्रवाह हुन भने सकिरहेको छैन । जसका कारण बैंकहरुको लागत बढ्न थालेको छ । बढ्दो लागतलाई कम गर्न बैंकहरुले ब्याजदर घटाउन थालेका छन् । बैंकहरुको निक्षेपको ब्याजदर घट्दा लागत पनि कम हुन गएको छ । जसका कारण आधारदर समेत घट्न थालेको छ ।
आधारदर घट्नु भनेको बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि घट्नु हो । बैंकहरुले आधारदरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकहरुले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर निर्धारण गर्न सक्छन् ।
जेठ महिनामा २० वटा वाणिज्य बैंकको औषत आधारदर ८.५४ प्रतिशत विन्दुमा झरेको छ ।
कुन बैंकको आधारदर कति ?
जेठ महिनाका लागि स्ट्याण्डर्ड चाटर्ड बैंकको आधारदर सबैभन्दा कम छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको आधारदर ७.०१ प्रतिशत कायम छ । त्यस्तै दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो बैंकको आधारदर ७.३५ प्रतिशत रहेको छ ।
जेठ महिनाका लागि एभरेष्ट बैंकको आधारदर ७.४८, नेपालको बैंकको ७.८५,नबिल बैंक ८.१,सानिमा ८.४१, सिद्धार्थ ८.५१,ग्लोबल आइएमई ८.५९,नेपाल इन्भेष्टमेन्ट बैंकको ८.२६,माछापुच्छ्रे ८.७,प्रभु ८.४९,कृषि विकास ८.६१, नेपाल एसबिआई ८.७७,एनआईसी एशिया ८.८६,एनएमबी ८.९४,हिमालयन ९.२,प्राइम ९.३,सिटिजन्स ९.७,लक्ष्मी सनराइज ९.१७ र कुमारी बैंकको आधारदर ९.६३ प्रतिशत कायम छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                