काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ । मौसम विज्ञान विभागले आज काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच पूर्वानुमान गरेको हो ।
काठमाण्डौ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढ्न थालेको छ । गत मङ्गलबार २८.५ डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाण्डौ उपत्यकाको तापक्रम बुधबार बढेर ३३.३ डिग्री सेल्सियस पुगेको थियो ।
मौसम विज्ञान विभागका अनुसार हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने विभागले जनाएको छ ।