काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ ।
आज बसेको समितिको बैठकले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । अध्यक्ष सिफारिसका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयबाट आउने सुझावका आधारमा समितिले निर्णय गर्नेछ ।
अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज पुनः बोलाएको थियो । तर आज पनि ३ जना उम्मेद्वार अनुपस्थित नभएपछि अध्यक्ष सिफारिसको विषयमा अन्यौलता सिर्जना भएको छ ।
गत आइतबार बोलाइएको कार्ययोजना तथा अन्तवार्ताका लागि सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए । सर्टलिस्टमा परेका मध्य डा.नवराज अधिकारी,कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाई गरी ३ जनाले भने अन्तर्वार्ता बहिष्कार गरेका थिए ।