काठमाण्डौ । विश्व कम्प्युटर चिप उद्योगमा आउने सक्ने सम्भावित समस्याका कारण विश्वभरका प्राविधिक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारले चीनबाट आयात हुने सेमिकन्डक्टर चिपमा थप प्रतिबन्ध लगाउन सक्ने सम्भावनाका कारण प्राविधिक कम्पनीहरुको सेयरमा बिक्री दबाव पर्दा सेयरमूल्य घटेको हो ।
यसका साथै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत विश्वको सबैभन्दा ठूलो चिप निर्माता ताइवानले पनि चीनबाट आफ्नो रक्षाका लागि अमेरिकालाई थप शुल्क तिर्नुपर्ने अभिव्यक्ति दिएपछि प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा विश्वभर गिरावट आएको छ ।
यसको परिणाम स्वरुप अमेरिकी सेयरबजार नास्डक कम्पोजिट इन्डेक्स २.८ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२२ पछिकै उच्च हो । यस्तै एस एण्ड पी५०० पनि १.४ प्रतिशतले घटेको छ ।
युरोपेली र एशियाली बजारका टेक्नोलोजी कम्पनीहरुको सेयरमूल्य निरन्तर ओरालो लागिरहेको छ । एशियाको दिग्गज चिप निर्माता कम्पनी टीएसएमसीको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै सेमिकन्डक्टर निर्माता टोकियो इलेक्ट्रोनको मूल्य पनि करिब ९.५ प्रतिशतले खस्किएको छ ।
अमेरिकी सेयर बजारको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी एनभिडियाको सेयरमूल्यमा पनि ६.६ प्रतिशतको पहिरो गएको छ । साथै अर्को अमेरिकी कम्पनी एएमडीको सेयरमूल्य पनि १० प्रतिशतले घटेको छ ।
यस्तै माइक्रोसफ्टको सेयरमूल्य १.३ प्रतिशत, एप्पलको २.५ प्रतिशत अमेजनको २.६ प्रतिशत,अल्फाबेटको १.६ र टेस्लाको सेयरमूल्य ३.१ प्रतिशतले घटेको छ ।
युरोपमा एएसएमएलको सेयरमूल्य ११ प्रतिशतले घटेको छ ।
ब्लूमबर्गले अमेरिकाले एएसएमएल र टोकियो इलेक्ट्रोन जस्ता चिनियाँ चिप निर्माता कम्पनीलाई थप कडाई गर्ने खबर प्रकाशित गरेसँगै कम्पनीहरुको सेयरमूल्यमा गिरावट आउन थालेको हो ।
बाइडेन प्रशासनले विगतमा पनि अमेरिकाको चिप प्रविधिमा चिनियाँ पहुँच रोक्न विभिन्न कदम चालेको थियो । -एजेन्सी

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                