काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । साउन १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।
बैठकले यहि साउन ३२ गते शुक्रबारका दिन सलार्ही जिल्लाको मलंगवामा रहेको जानकी फेमिली होटल एण्ड पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा बिहानको ११ बजेबाट सुरु हुनेछ ।
सभामा संस्थाको स्थापनाको समयमा राखिएको जारी पूँजी बोनस सेयर का लागि अपूग भएकोले सो जारी पूँजीलाई परिवर्तन गरी जारी पूँजी ४ करोड रुपैयाँ कायम गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ६ (ख) मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।
समाज लघुवित्तले आर्थिक वर्ष २०७९/८० का लागि आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण गरेको थिएन ।