काठमाण्डौ। ‘माइम आर्ट’ पढिरहेका इटालीका कम्युनिस्ट विद्यार्थी, बलमा अर्जुनदृष्टि लगाउने एक प्रतिभाशाली बालक र एक जना हाँस्य कलाकारमा के समानता हुन सक्छ ? यी तीनै जना पछि गएर एउटा निकै खास समूहको हिस्सा बने। एजेन्सीका अनुसार मिउचिया प्राडा, टाइगर वुड्स र जेरी सेनफिल्डको कुराकानी गरिरहेको छ। यी तीनै जना हाल विश्वका २ हजार ८०० अर्बपतिको सूचीमा परेका छन्। यो सूचीमा विश्वभरका अलग–अलग देशका मानिस पनि छन्। यस्तै,विश्वभरका धनाढ्यको सूची तयार गर्ने अमेरिकी सञ्चार गृह फोर्ब्सका अनुसार अर्बपतिको सङ्ख्यामा अमेरिका पहिलो स्थानमा रहेको छ। सूचीमा ८१३ अमेरिकी अर्बपति छन्।
हङकङ र चीन दोस्रो स्थानमा छ। जसमामा यहाँका ४७३ अर्बपति परेका छन्। २०० जना अर्बपतिसहित भारत यो सूचीमा तेस्रो स्थानमा छ। यो सूचीमा परेका व्यक्तिहरूको अर्बौंको सम्पत्तिबारे अनुमान गर्न गाह्रो छ। एक अर्ब भनेको सानो अङ्क होइन। १० लाख सेकेन्ड बराबर ११ दिन हुन्छ भने एक अर्ब ३२ वर्ष बराबर हुन्छ।
८१ जनाको हातमा चार अर्ब मानिसभन्दा धेरै सम्पत्ति
केही मानिस अर्बपतिहरूको अस्तित्वलाई ठिक मान्दैनन्। विश्वका ८१ जना धनाढ्यसँग विश्वका चार अर्ब मानिसको तुलनामा धेरै सम्पत्ति छ। असमानताबारे सन् २०२३ मा अक्सफामले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा भनिएको थियो, ‘हरेक अर्बपति नीतिगत गल्तीको परिणाम हो । बढ्दो गरिबी र बाँच्नका लागि आवश्यक स्रोत तथा संसाधनको सङ्कटका बिचमा कीर्तिमानी नाफाको साथमा फस्टाउँदै गइरहेका अर्बपति हुनु भनेको एउटा यस्तो आर्थिक व्यवस्थाको प्रमाण हो, जो मानवताका लागि काम गर्न असफल भएको छ।’
यही असमानताका कारण धेरै देशमा आम्दानीमा करको सट्टा सम्पूर्ण सम्पत्तिमा कर लगाउने कुरा उठिरहेको छ। अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर एलिजाबेथ वारेनले ५ करोड डलरको सम्पत्तिमा दुई प्रतिशत र १ अर्ब डलरको सम्पत्तिमा तीन प्रतिशत कर लगाउने प्रस्ताव गरेकी छन् । तर अन्य केहीले भने धेरै धनसम्पत्तिको सम्भावनाले लाखौँ मानिसको जीवनमा सुधार गर्ने नयाँ सिर्जना र आविष्कारहरूलाई प्रोत्साहन दिने तर्क दिइरहेका छन् ।
अर्बपति सङ्ख्या बढाउन चाहन्छन् केही अर्थशास्त्री
‘हामीलाई कम होइन, अझ धेरै अर्बपति चाहिन्छ,’ अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनको तर्क छ। उनले नोबेल पुरस्कार विजेता विलियम नर्डहसको सिद्धान्त उद्धृत पनि गरेका थिए । यस सिद्धान्तमा नर्डहसले प्राविधिक आविष्कारबाट हुने नाफाको दुई प्रतिशतमात्र संस्थापक र आविष्कारकलाई जान्छ, बाँकी समाजमा जान्छ भनेका थिए। नीतिको असफलताका कारणमात्रै सबैजना अर्बपति बनेका छैनन्, बरु आफ्नै नवीनता र मेहनतले यो स्थानमा पुगेको तर्क स्ट्रेनको छ। ‘उनीहरू अर्बपति नबनुन् भनेर कामना गर्नुको सट्टा हामी उनीहरूको सफलतामा खुसी हुनुपर्छ,’ अमेरिकी अर्थशास्त्री माइकल स्ट्रेनले भने।
अर्बपतिहरू स्वनिर्मित आविष्कारक भएको अनि उनीहरूले जीवन जीउने तरिका बदल्ने पनि उनले बताए । यसमा उनले बिल गेट्स र स्टिभ बाल्मरको उदाहरण दिएका थिए। यी दुवै जनाले ‘कम्प्युटिङ’को संसारमा क्रान्तिकारी परिवर्तन ल्याएका थिए। उनले चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेट, जेफ बेजोस र एलन मस्कको पनि उदाहरण दिए।
बफेट र बेजोसले खुद्रा विक्रीको क्षेत्रलाई प्रवर्द्धन गरेका थिए भने एलन मस्कले अटोमोटिभ उद्योग र अन्तरिक्ष व्यवसायमा क्रान्ति ल्याएका थिए। नीतिको असफलताका कारणमात्रै सबैजना अर्बपति बनेका छैनन्, बरु आफ्नै नवीनता र मेहनतले यो स्थानमा पुगेको तर्क स्ट्रेनको छ। ‘उनीहरू अर्बपति नबनुन् भनेर कामना गर्नुको सट्टा हामी उनीहरूको सफलतामा खुसी हुनुपर्छ,’ उनले भने। कयौँ अर्बपतिले ठुलो रकम दान पनि गरिरहेका छन्। गेट्स र बफेटले द गिभिङ प्लेजको पहल गरे । यसअन्तर्गत उनीहरूले आफ्नो जीवनकालमा आधाभन्दा बढी सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएका छन्।
मानिसहरू कसरी बन्छन् अर्बपति ?
मानिसहरू यत्तिकै अर्बपछि बन्दैनन्। उनीहरूको सफलताले हामीलाई हाम्रोबारे पनि कयौँ कुरा भन्छ। जुन अर्बपतिको चर्चा गरिन्छ, उनीहरूले कम वा बढी कुनै न कुनै रुपमा संसारलाई बदलेका छन्। चाहे त्यो प्राडा उत्पादन होस् वा स्टार वार्स सिनेमा होस् वा टिकटक नै किन नहोस्। अर्बपति बन्दासम्मको उनीहरूको यात्रा र दुःखका कथा पनि रोचक हुन्छन्।
सुरुमा गुगल सर्च इञ्जिनलाई यसका संस्थापकले १० लाख डलरमा बेच्न खोजेका थिए । तर त्यतिबेला यसका लागि कोही क्रेता पाइएन । अहिले गुगलको मूल्य २३ खर्ब डलर पुगेको छ भने यसको सह–संस्थापक सर्गी ब्रिनको नेटवर्थ १ खर्ब ३५ अर्ब डलर भएको छ । यो भनेको मोरक्कोजस्ता देशको जीडीपी बराबर हो ।
मिउचिया प्राडा सन् १९६० को दशकमा इटलीमा एक वामपन्थी ‘मारिया बियान्ची’ भनेर चिनिन्थिन्। यिनले आफ्नो नाम मारिया बियान्चीबाट फेरेर मिउसिया प्राडा राख्नु अघि थिएटर स्कूलमा माइम कला पढ्दै थिइन्। माइम कला मौन अभिनयको एउटा शैली हो। यसमा अनुहारको हाउभाउ र इशाराहरू मार्फतमात्र व्यक्त गर्न खोजेको कुरा सम्झाउने कोसिस गरिन्छ।
अमेरिकी हाँस्य कलाकार र अभिनेता जेरी सेनफिल्डका आमाबाबु दुवै अनाथ थिए। उनका बुबाले जेरीलाई कहिल्यै अँगालो हालेनन्। सायद यही कारणले गर्दा ल्यारी डेभिडले आफ्नो हिट कमेडी सेनफिल्डमा( नो हगिङ र नो लर्निङ भन्ने लाइन राखेका थिए। यी अर्बपतिहरूको सफलताले प्रायः व्यापक ऐतिहासिक, राजनीतिक र प्राविधिक प्रवृत्तिहरूको कथा पनि बताउँछ। अलिबाबाका सह–संस्थापक ज्याक मालाई पनि एकैसाथ उदीयमान दुई शक्तिबाट फाइदा भयो। त्यतिबेला अनलाइन खुद्रा विक्रीले गति लिइरहेको थियो भने अर्कोतिर चीन बलियो अर्थतन्त्रका रूपमा उदाइरहेको थियो । त्यहाँका जनताको समृद्धि बढिरहेको थियो।
सफलताका अनेकौँ पाटो हुन्छन्
भाग्यले सबैभन्दा ठुलो भूमिका खेलेको यस्ता केही कथा पनि छन्। सन् १९६० को दशकको उत्तरार्द्धमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स अमेरिकामा कम्प्युटरहरू भएका केही विद्यालयमध्ये एकमा जाने गर्थे। रिहानाले त्यतिबेला अडिशन दिने मौका पाइन् जति बेला एक रेकर्ड निर्माता बार्बाडोसमा छुट्टीमा थिए। केही व्यक्तिका लागि परिवार सबैभन्दा सहयोगी साबित भए। प्रशिद्ध गायिका टेलर स्विफ्टको सम्पूर्ण परिवार आफ्नो छोरीको करियरलाई अगाडि बढाउन पेन्सिलभेनियाबाट न्यासभिल गए।
अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनकी आमाले उनलाई एडिडास वा कन्भर्स जस्ता खेलकुद कम्पनीहरूसँग कुनै पनि सम्झौता गर्नुअघि नाइकीको कुरा सुन्न सल्लाह दिएकी थिइन्। पछि यो सम्झौता खेलकुद इतिहासमा सबैभन्दा ठुलो सम्झौता साबित भयो। निःसन्देह, यी कथामा यस्ता केही क्षण छन्, जसमा स-साना घटनाहरूले यी अर्बपतिहरूको जीवन र भाग्यलाई परिवर्तन गरेको छ। तर जब अवसरको ढोका खुल्छ, सबै कुरालाई समेटेर हिँड्न जान्नु पर्छ। यी सबैमा एउटै कुरा समान छ भने त्यो ऊर्जा, प्रेरणा र प्रतिबद्धता हो, जुन ती व्यक्तिले आ-आफ्नो क्षेत्रमा लिएर आएका छन्। अनि उनीहरू सबैमा अगाडि बढ्ने इच्छा पनि छ। -बीबीसी हिन्दी