काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५० प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।
आइतबार बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो।
हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले बैंकले यो आर्थिक वर्षका लागि २६.५० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको हो ।
गत वर्षको यही अवधिमा भने बैंकको लाभांश क्षमता २८.७५ प्रतिशत रहेको थियो । लाभांश क्षमतामा सामान्य गिरावट आउनु पछाडिको मुख्य कारण बैंकले व्यवसाय बिस्तार गर्न नसक्नु देखिन्छ ।
समीक्षा अवधिमा ५ अर्ब १५ करोड खूद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष ५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिका लागि बैंकको खूद नाफा ३ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६ करोडले कम हो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३५.०९ रुपैयाँ, पीई अनुपात १७.१६ गुणा, प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकले १ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप घटे पनि लोन भने बढेको देखिएको छ ।
बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्जको रुपमा २१ करोड ६१ लाख छुट्याएको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५९ करोड ८२ लाख रुपैयाँ छुट्याउनु परेको थियो । इम्पेयरमेन्ट चार्ज घटेका कारण समेत बैंकको नाफा विषम परिस्थितिमा पनि राम्रो आएको र निकै राम्रो लाभांश क्षमता बनाएको देखिन्छ ।
अघिल्लो वर्षको यही अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.१४ प्रतिशत पुगेको छ । यो बैंकको वित्तीय स्वास्थ्यका लागि राम्रो संकेत होइन ।