काठमाण्डौ। डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका दुई सञ्चालकलाई सरकारले पदमुक्त गरेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सञ्चालक समिति बैठकमा दुबै जनालाई बोलाएका छन्।
पदमुक्त गरेका प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई निर्देशक घिसिङले बोलाएका हुन्।
उनीहरूले डेडिकेटेड तथा ट्रंक लाइन विवाद सुल्झाउन सरकार र विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै मन्त्रीले पदबाट हटाएको बताइएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको तर सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले फरक मत (नोट अफ डिसेन्ट) लेखेको कुरालाई लिएर हटाइएको मन्त्रालयले जनाएको छ।