काठमाण्डौ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् ।
माघ २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । त्यसअघि पनि उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका थिए ।
विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव छ ।
बैंक परिवारको तर्फबाट दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गर्ने कार्यक्रम समेत गरिएको थियो ।
सो कार्यक्रममा लम्सालले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशील रहन आग्रह गरे ।