काठमाण्डौ । यतिबेला नेपालसहित विश्वभरका उपभोक्ता बढ्दो महङ्गीसँगै अखाद्य वस्तु र ठगीको मारमा परिरहेका छन् । उपभोक्ताको स्वास्थ्यलाई गम्भिर प्रभाव पार्ने वस्तुदेखि लिएर नापतौलमा जालझेल गरेर व्यापारीहरु ठग धन्दामा लागिरहेको विषय नौलो होइन । तर बजारमा बेलाबखत सबैलाई चकित पार्ने घटना पनि घटिनै रहेका हुन्छन् ।
उपभोक्तालाई ठग्ने नयाँ–नयाँ तरिका आईरहेकाले ठगीबाट कसरी जोगिने भन्ने विषय पनि जटिल बन्दै गईरहेको छ । यस्तै एउटा घटना भारतमा घटेको छ । भारतको अकोला भन्ने ठाउँमा नक्कली लसुन बेचेको घटना सार्वजनिक भएको छ । भारतको यो ठाउँमा लसुनको मूल्य यतिबेला निकै वृद्धि भएको छ । यसैको फाइदा उठाउँदै ठेलामा तरकारी बेच्नेले सक्कली लसुनको बीचमा नक्कली लसुन पनि बेच्न थालेका छन् ।
नक्कली लसुन भने सिमेन्टबाट बनेको र हेर्दा दुरुस्तै सक्कली जस्तै देखिने खालका छन् । लसुन बाहिर सेतो रङ लगाइएको छ ।
मानिसहरुले अकोलाका विभिन्न स्थानमा यस्तो घटना देखिएको बताएका छन् ।