काठमाण्डौ । भारतीय मसला विश्वभर चर्चित छ । यहाँको मसला विश्वभरका देशमा निर्यात हुने गर्छ । तर भारतमा बिक्री भईरहेका १२ प्रतिशत मसला गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार खान योग्य भएको प्रतिवेदन सार्वजनिक भएको छ । भारतको फूड एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले देशमा बिक्री भईरहेका मसलाहरुको कुल ४ हजार ५४ वटा नमुना परीक्षण गरेको थियो । जसमा ४७४ वटा मसला एफएसएसएआईको मापदण्ड अनुसार खान अयोग्य रहेको जनाइएको छ ।
एफएसएसएआईले मे देखि जुलाईसम्म यी मसलाको परीक्षण गरेको थियो । सिंगापुर,हङकङ तथा नेपाल जस्ता देशहरुले भारतीय मसलाको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय मसलामा प्रतिबन्ध लगाएसँगै भारतीय सरकारले मसलाको परीक्षण सुरु गरेको थियो ।
एफएसएसएआईले मसलाहरुको परीक्षण गरेपनि ब्राण्ड अनुसारको जानकारी भने नरहेको र मापदण्ड परीक्षणमा असफल भएका कम्पनीहरुलाई कारवाही गरिने जनाएको छ । उता संगापुर,हङकङ तथा नेपालले प्रतिबन्ध लगाएका एमडीएच र एभरेष्ट मसलाले भने आफ्नो प्रडक्टहरु उपभोक्ताका लागि सुरक्षित भएको दाबी गरेका छन् । एमडीएच र एभरेष्टको मसला विश्वभर बिक्री हुने गर्छ । जियान मार्केट रिसर्चका अनुसार सन् २०२२ मा भारतको घरेलु मसला बजारको मूल्य ८७ हजार ६०८ करोड भारु थियो । आर्थिक वर्ष २०२३–२४ मा भारतबाट हुने मसला निर्यातको मूल्य ३७ हजार ४२५ करोड भारु भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
एभरेष्ट र एमडीएच ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले नेपाल हंङकङ र सिंगापुरमा प्रतिबन्ध लगाइएको थियो । यी प्रडक्टहरुमा उल्लेख गरिएको किटनाशकको मात्रा धेरै भएकाले यसले क्यान्सर हुने खतरा बढी हुने जनाइएको छ । हङकङले प्रतिबन्ध लगाउनुअघि सिंगापुरले पनि यहि कारण एभरेष्ट मसलाको फिश करी मसलालाई बजारबाट फिर्ता मगाउने निर्देशन जारी गरेको थियो ।
इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ले एथिलीन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनको रुपमा वर्गाीकरण गरेको छ ।
मसलामा विषादी किन प्रयोग गरिन्छ ?
मसला उत्पादन गर्ने कम्पनीहरूले ई कोलाई र साल्मोनेला जस्ता ब्याक्टेरिया र फङ्गसहरुबाट खाद्य वस्तुहरू बिग्रनबाट जोगाउन इथाइलिन अक्साइड सहित कीटनाशकहरू प्रयोग गर्छन् ।
लामो समयसम्म बिग्रन नदिन प्रतिबन्ध लगाए पनि यी कम्पनीहरूले विषादीलाई प्रिजर्भेटिभ वा स्टेरिलाइजिङ एजेन्टको रूपमा प्रयोग गरिरहेका छन् ।