काठमाण्डौ । बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत पब्लिक कम्पनीको सेयरमा २४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म बीमा कम्पनीहरुले गरेको क्षेत्रगत लगानी बमोजिम सेयरबजारमा मात्रै २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ लगानी गरेको देखिएको हो ।
जीवन बीमातर्फ १३ वटा कम्पनी, निर्जीवनतर्फ १२, माइक्रो इन्स्योरेन्सतर्फ एउटा र दुई पुनर्बीमा कम्पनी गरी २८ वटा बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा २४ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्था छ । तर बीमा कम्पनीहरुले आधा भन्दा बढी लगानीको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै राखेको देखिन्छ ।
सेयरबजारमा देखिने उतारचढावका कारण बीमा कम्पनीहरु यो सेक्टरमा लगानी गर्न डराइरहेका छन् । बैंकको मुद्दती निक्षेपमा रकम राख्दा केही प्रतिशत भएपनि ब्याज आम्दानी हुने भएकाले बीमकहरु ८० प्रतिशत रकम बैंकको मुद्दती निक्षेपमा राख्ने गर्दछन् ।
सेयरबजारमा लगानी गर्दा जोखिम बढी हुने र पछिल्लो अवस्थाको बजारले प्रतिफल समेत नपाउने संकेत देखिँदा बीमा कम्पनीहरुले यो क्षेत्रमा लगानी थप्न सकिरहेका छैनन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानी विविधिकरण गर्ने हेतुले बीमकको लगानी निर्देशिका संशोधन गर्दै सेयरबजारमा लगानीको दायरा समेत बढाउन पाउने व्यवस्था गरिदिएको छ ।
तर, अधिकांश बीमा कम्पनीहरु सेयरबजारमा लगानी बढाउन वा थप्न तयार देखिँदैनन् । प्राधिकरणले बीमा कम्पनीको लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । यसअघि बीमा कम्पनीले कायम चुक्तापुँजीको ५ प्रतिशत रकम मात्रै सो कम्पनीको सेयरमा लगानी गर्न पाउने व्यवस्था थियो । लगानीको सीमा बढेपनि बीमा कम्पनीहरु पुँजीबजारमा लगानी थप्न वा बढाउँन नसकिरहेका तथ्याङ्कले देखाएको छ ।
कुनको कति लगानी ?
गत आवको अन्त्यसम्म सेयरबजारमा सर्वाधिक लगानी गर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल ५ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, नेपाल लाइफले २ अर्ब ८० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब १५ करोड, एलआइसी नेपालले १ अर्ब ८२ करोड, सुर्यज्योति लाइफले १ अर्ब २७ करोड, हिमालयन रि इन्स्योरेन्सले १ अर्ब ८ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५ करोड, एशियन लाइफले ८२ करोड ८९ लाख, राष्ट्रिय बीमा कम्पनीले ७९ करोड ४१ लाख, प्रभु महालक्ष्मी लाइफले ७७ करोड ९ लाख, सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ र आइएमई लाइफले ६६ करोड ४६ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेृको छ ।
यसका साथै सन नेपाल लाइफले ५८ करोड ६६ लाख, नेको इन्स्योरेन्सले ५५ करोड ६ लाख, नेशनल लाइफले ५२ करोड ९९ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५० करोड २८ लाख, सिद्धार्थ प्रिमियरले ४५ करोड ३१ लाख, आइजीआई प्रुडेन्सियलले ४३ करोड २५ लाख, प्रभु इन्स्योरेन्सले ३२ करोड ८६ लाख, सिटिजन लाइफले २९ करोड ४५ लाख, हिमालयन एभरेष्टले २९ करोड ३१ लाख, युनाइटेड अजोडले १६ करोड ३५ लाख, शिखरले १३ करोड ९२ लाख, नेपाल रि इन्स्योरेन्सले ९ करोड ४७ लाख, सानिमा जिआइसीले ८ करोड ८३ लाख, नेपाल इन्स्योरेन्सले ७ करोड ३२ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड ९ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ८८ लाख रुपैयाँ सेयरबजारमा लगानी गरेको छ ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                