काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता रुपरेखाको मस्यौदा तयार पारेको छ । अब बीमा कम्पनीहरुले बीमा साक्षरताका लागि छुट्टै इकाई स्थापना गर्नुपर्नेछ ।
प्राधिकरणले बीमा विकास तथा प्रबर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमक दुबैको समान जिम्मेवारी रहेको हुँदा बीमा साक्षरता कार्यलाई मार्गदर्शन गरी एकरुपता प्रदान गर्ने उद्देश्यले ‘बीमा साक्षरता रुपरेखा’को मस्यौदा तयार पारेको हो ।
प्राधिकरणले बीमा साक्षरता रुपरेखामार्फत नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरोन्नती गर्ने एवं दुर्गम ग्रामिण लगायत सबै वर्ग र तहका नागरिक प्रति सुनिश्चित ल्याउने लक्ष्य लिएको छ ।
साथै बीमाका आवश्यकताहरु बुझ्न व्यक्तिहरुलाई आवश्यक बीम ज्ञान र प्रविधिहरुको माध्यमबाट सरोकारवाला समग्र पक्षलाई सशक्त पार्नु, व्यवस्थित रुपमा बीमा प्रणालीम स्थिरता हासिल गर्न सहजीकरण गर्न नेपाल बीमा प्राधिकरणका लागि औपचारिक संरचना विकास गर्न, बीमा साक्षरता प्रयासहरु तथा बीमा पहुँचबाट बीमा समावेशिकरणलाई बढावा दिनु, कुल गार्हस्थ उत्पादनमा योगदान मात्रै रहेको बीमा क्षेत्रको दायरा फराकिलो पार्नु, समाजको ठूलो हिस्सामा बचत गर्ने क्षमताको कमी रहेको अवस्थामा बचत गर्ने बानीको विकास गरी स्रोतको समुचित लगानी गर्नु र बीमाको दायरा फराकिलो बनाई अधिकतम व्यक्ति र कारोबारलाई बीमाको दायरामा ल्याउनु जस्ता उद्देश्यहरु रहेको मस्यौदामा उल्लेख छ ।
रणनीति तथा कार्यनीति
प्राधिकरणले बीमा साक्षरता रुपरेखामार्फत बीमाको पहुँच समावेशिकरण तथा साक्षरता बढाउने रणनीति लिएको छ । जसमा लक्षित वर्ग केन्द्रित बीमा साक्षरता अध्ययन सामाग्रीको प्रयोग सुनिश्चित गर्ने, ग्रामिण तथा दुर्गम क्षेत्रमा बीमाको सेवाको उपलब्धता बढाउने, स्थानीय तह, विद्यालय, कलेज र अन्य क्षेत्रमा बीमा साक्षरता कार्यक्रम विकास गरिने, विकास शिक्षा सम्बन्धी विभिन्न विषयलाई विद्यालयस्तरको पाठ्यक्रम विकास केन्द्रसँग आवश्यक समन्वय गरिने जस्ता कार्यनीति प्राधिकरणले बनाएको छ ।
यसका साथै बीमाको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गर्ने र श्रव्यदृश्य सामाग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गर्नुका साथै ती सामाग्रीमार्फत बीमा सम्बन्धी विभिन्न विषयका बारेमा चेतना अभिबृद्धि गरिने कार्यनीति रहेकोछ ।
त्यस्तै, बीमाका विभिन्न सूचना जानकारी तथा बीमाका चेतनामूलक सामाग्री प्रचारप्रसार गर्न आधिकारीक फेसबुक पेज युट्युब च्यानल सञ्चालन गरिने, कृषि तथा लघुबीमाको दायरा विस्तार गरिने, बीमा कम्पनी र तीनका सहरकेन्द्रित सेवालाई ग्रामिण क्षेत्रसम्म विस्तार गर्ने व्यवस्था मिलाउने र बीमा जनचेतना अभिबृद्धि गर्न दुर्गम तथा ग्रामिण क्षेत्र समेटिने गरी जानकारीमुलक कार्यक्रम सञ्चालन गरिने प्राधिकरणले मस्यौदामा उल्लेख गरेको छ ।
त्यस्तै, प्राधिकरणले बीमा चेतना ज्ञान र सीपको अभिबृद्धि गर्दे जिम्मेवार वित्तीय आचरण विकास गर्ने, बीमा सेवाका उपभोक्ताहरुको हित संरक्षण गर्ने, बीमा क्षेत्रमा प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय आवद्धता कायम गर्ने, बीमाको साक्षरता बढाउन नियमन र सुपरिवेक्षण संरचना सुदृढ तुल्याउने जस्ता रणनीति प्राधिकरणले लिएको छ ।
बीमा प्राधिकरणको जिम्मेवारी र भूमिका
– बीमासम्बन्धी सामान्यदेखि विशिष्ट ज्ञान सामग्रीको तयारी,
– बीमा साक्षरता कार्यक्रम सञ्चालन गरी बीमासम्बन्धी जनचेता अभिवृद्धि गर्ने,
– बीमा साक्षरतासम्बन्धी कार्यक्रमका लागि व्यक्ति तयार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने,
– बीमा साक्षरता कार्यक्रमहरुको अनुगमन र मूल्यांकन गर्ने,
– विभिन्न बीमाका विषयमा तालिम प्रदान गर्ने,
– सम्बन्धित सरोकारवालाहरु सँग प्रभावकारी समन्वय गर्ने।
बीमा कम्पनीहरुको जिम्मेवारी र भूमिका
– बीमा सम्बन्धि सामान्य देखि विशिष्ट ज्ञान सामग्रीको तयारी
– बीमा साक्षरता सम्बन्धि आफुले सञ्चालन गरेका कार्यहरुको नेपाल बीमा प्राधिकरणमा रिपोर्टिङ गर्ने,
– बीमकले बीमा साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रिय कार्यलयमा बीमा साक्षरता इकाई वा कुनै इकाईलाई सोको जिम्मेवारी तोकिएको हुनुपर्नेछ ।
– बीमा साक्षरता सम्बन्धी योजना तथा कार्ययोजना तर्जुमा गर्दा आधारभूत रूपमा प्राधिकरण बाट जारी बीमा साक्षरता ढाचा २०८१ को पालना गर्नुपर्छ
– बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्दा बिमा पहुँच कम भएका स्थानहरुलाई कम प्राथमिकता दिनुपर्छ ।
– बीमा साक्षरता सम्बन्धी कार्यक्रमका लागि व्यक्ती तयार गर्न बीमकका कर्मचारीलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
– बीमा साक्षरता सम्बन्धि अध्ययन सामग्री नियमित रुपमा समप्रेषण गर्नुपर्नेछ ।
– बीमकले बीमा साक्षरता सम्बन्धी आवधिक कार्ययोजना तयार गर्दा लक्षित वर्गको वित्तीय ज्ञान सिप मनोवृत्ति र व्यवहार परिवर्तनका लागि सैद्धान्तिक एवम व्वहारिक पक्षहरुलाई समेट्नुपर्छ ।
– सर्वसाधारणले सहजै बुझ्नेगरी र सुचना पाउन सक्ने गरी आवश्यक संयन्त्रको विकास गर्नुपर्नेछ,
– बीमा साक्षरता कार्यक्रमहरु व्वसाय विस्तार र व्यापारिक मनसायले नभई सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित हुनुपर्नेछ,
– बीमा साक्षरता सम्बन्धि कार्यक्रमहरू कुनै बिशेष भुगोल वा बिशेष वर्गमा मात्र केन्द्रित नभई संस्थाको कार्यक्षेत्र भित्रका सबै स्थान तथा सबै लक्षित समूहमा न्यायोचित ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।