काठमाण्डौ । जापानीज अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पको उत्पादनमा लगातार ७ महिना गिरावट आएको छ । अगस्ट महिनामा पनि कम्पनीको विश्वभरको उत्पादन ११ प्रतिशतले घटेको छ ।
अगस्ट महिनामा कम्पनीले ७ लाख ९ हजार ५७१ युनिट सवारी उत्पादन गरेको छ । घरेलु बजारमा पनि कम्पनीको उत्पादनमा २२ प्रतिशतको कमी आएको छ ।
जापानमा टोयोटाले १ लाख ८५ हजार ६८० युनिट सवारी उत्पादन गरेको छ ।
सवारी सर्टिफिकेशन विवाद र जापानमा आएको आधिहुरीका कारण कम्पनीको उत्पादनमा कमी आएको बताइएको छ । गत जुन महिनामा कम्पनीको चर्चित मोडल कोरोला फिल्डर,कारोला एक्सिओ र यारिस क्रसलाई प्रतिबन्ध लगाइएको थियो ।
नियामकले ३ वटै मोडल सुरक्षित रहेको भन्दै प्रतिबन्ध हटाएपछि कम्पनीले सेप्टेम्बरबाट ३ वटै मोडलको उत्पादन सुरु गरेको छ ।
यस्तै अगस्ट महिनाको अन्त्यतिर आएको आधिहुरीका कारण सबै घरेलु कारखानाको उत्पादन प्रभावित भएको कम्पनीले जनाएको छ ।
अगस्ट महिनामा कम्पनीले जापानबाहिर ५ लाख २३ हजार ८९१ युनिट सवारी साधन उत्पादन गरेको छ । जुन ६.५ प्रतिशतले कम हो । योबीचमा उत्तर अमेरिकामा कम्पनीको ग्रणड हायरल्याण्डर र लेक्सस टीएक्सलाई बजारबाट फिर्ता मगाइएको थियो ।
घरेलु बजारमा सिर्जना भएको गुणस्तरसम्बन्धी विवाद र चीनमा देखिएको तीव्र प्रतिस्पर्धाका कारण पनि कम्पनीको विश्वव्यापी उत्पादनमा कमी आएको छ । चीनमा टोयोटाको बिक्रीमा १३.५ प्रतिशतले घटेको छ । ३ वटा मोडलमा विवाद उत्पन्न भएपछि कम्पनीले यी मोडलको निर्यात गर्न सकेको थिएन ।