काठमाण्डौ । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा अन्तिम मिनेटमा सेयरको भाउ तलमाथि गर्ने खेल खुलेआम चल्न थालेको छ । यसअघि पनि एउटा ब्रोकरबाट नेपाल टेलिकमको सेयरमा पोजेटिभ सर्किट लगाएर अन्तिम मिनेटमा १५ अंक सम्मले बजार बढाइएको थियो ।
टीएमएसमा नै करोडौ कित्ता खरिद अर्डर देखिने त कहिले टीएमएसले नै काम नगर्ने समस्या बारम्बार आउन थालेको छ । प्राय दिनभर नियमित कारोबार भएको बजारमा अन्तिम मिनेटमा सेयरको भाउ उचाल्ने र खसाल्ने अहिले सामान्यजस्तै र खुलेआम नै भएको छ ।
हिजो पनि अन्तिम मिनेटमा पिपुल्स पावरको सेयरको मूल्यमा एकैपटक ५० रुपैयाँले घटाउने काम भयो । अन्तिम समयमा ४२७ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयरभाउ ३७७ रुपैयाँमा झारिएको छ । यो भनेको करिब १२ प्रतिशतले गिरावट हो ।
धितोपत्र ऐनअनुसार दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयरभाउ एक पल्टमा २ प्रतिशत भन्दा तलमाथि गर्न पाइँदैन ।
त्यसैगरी, दिनभरको कारोबारमा १० प्रतिशतभन्दा तलमाथि गर्न पाइदैन । यी दुवै नियम बर्खिलाप गरेर केही समय देखि सेयर बजारमा चलखेल गर्ने काम निरन्तर बढेको छ । तर यस विषमा नियामक निकाय भने उदासीन देखिन्छ ।
लगानीकर्ताहरुले उजुरी नै गर्दा पनि नियामकले खासै वास्ता गरेको देखिँदैन । धितोपत्र बोर्डमा सुपरिबेक्षण विभाग नै हुन्छ भने एक छुट्टै आइटी शाखा पनि रहेको हुन्छ । तर हालसम्म यस्ता कार्य गर्ने जोकोहीलाई पनि बोर्डले कारबाही अर्थात सामान्य चेतावनीसम्म गरेको दृष्टान्त छैन ।
त्यसैगरी नेप्सेले पनि दोस्रो बजारमा हुने यस्ता बेथितिको विषयमा कुनै कदम उठाएको छैन । हामीले यस विषयमा बुझ्न खोज्दा धितोपत्र बोर्ड र नेप्सेका कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।