काठमाण्डौ । नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली दसैंविदाको सदुपयोग गर्दै यूरोप भ्रमणमा निस्किएका छन् ।
दसैंविदाअघि बिजशालासँग कुरा गर्दै ज्ञवालीले यसपटक यूरोपीय मुलुकहरु फ्रान्स, जर्मनी, पोर्चुगल लगायतमा घुम्न जाने तयारी रहेको बताएका थिए ।
दसैं भन्नेबित्तिकै ज्ञवालीलाई पनि गाउँघरकै याद आउँछ । दसैंमा गाउँमा पिङ खेलेको, मामाघर गएको उनलाई निकै याद आउँछ ।
दसैंमा कान्छा ठूला बुवाले बावियो ल्याएर पिङ बाइदिएको र दसैंमा पिङ खेलेको यादहरु उनलाई ताजा झै लाग्छ । उनी परिवारका ६ दाजुभाईमध्यका एक हुन् । सानोमा मामाघर जाँदा जूकाले रगतै निकाल्ने गरी टोकेको पनि उनलाई सम्झना आउँछ।
बालपनमा उनलाई मामाघर अर्कै ठाउँ जस्तो लाग्ने गथ्र्यो रे । उनले दसैंमा बढी तडकभडक नगरी सामान्य रुपमा नै मनाउन सर्वसाधारणलाई सुझाएका छन् । ‘बढी तडकभडक गरेर दसैं मनाउँदा ऋणको भारी आफैंलाई पर्ने हो ।’ उनले भने ।
नयाँ नोट रङ्गाउने तथा बिगार्नेजस्ता काम पनि नगर्न ज्ञवालीले सर्वसाधारणलाई आग्रह गरेका छन् ।