काठमाण्डौ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को आज काठमाण्डौमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लगइन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम(नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरु, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उपस्थित सबैलाई स्वागत गरेका थिए । उनले नेपालको जनसख्यामा युवाजनशक्तिको हिस्सा दक्षिण एशियामा नै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने विचार व्यक्त गरे । भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई आग्रह गरे ।
नेपाल लाइफले ल्याएको यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने उनले बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने कुरा उनले बताए ।
यसका साथसाथै उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि जानकारी दिए । सोही अवसरमा कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजनाअन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरे ।
कार्यक्रममा बोल्दै कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिम नै लिनकुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिमलिई बीमालाई नेपालीको घरघरमा पुर्याउन सकिनेमा उनले जोड दिए । कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगितामाथि प्रकाश पारेका थिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । साथसाथै, उनले आगामी दिनमा पनि प्रविधिमैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए । । कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लयाटफर्मको अनावरण समारोहमा आफू सामेल हुनपाएकोमा खुसी भएको बताए ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल रहेका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सो पथमा लम्कीपनि रहेको विचार अभिव्यक्त गरे ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                