काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ अर्ब ९५ करोड रुपैयाँबराबरको साधारण सेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।
त्यस्तै पुस मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।