काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी मंसिर १९ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।
अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।