काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.८२ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी १ करोड ५६ लाख रुपैयाँ र वित्त आम्दानी १४ लाख ३८ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७२ करोड ६२ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि ३८ करोड ६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।
कम्पनीको रिजर्भको आकार ५.८९ प्रतिशतले बढ्दै ५ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ७ अर्ब २१ करोड र कुल चालु दायित्व ७ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार १२० रुपैयाँ र पीई अनुपात ४२ गुणा ऋणात्मक कायम भएको छ ।
कम्पनीको वित्तीय प्रतिवेदन खराब आएतापनि कम्पनीको सेयरमूल्यमा भने प्रत्येक दिन वृद्धि भईरहेको छ । हिजो साताको अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सक्रिट लागेको थियो । गत माघ २८ गते प्रतिकित्ता ६ हजार ३६० रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य त्यसपछि भने बढ्दै प्रतिकित्ता ९ हजार ३११ रुपैयाँको उचाईमा पुगेको छ ।