काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ४४९.१५कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।
संस्थाको चुक्ता जारी पूँजीको ८०.३२ प्रतिशत स्वामित्व संस्थापक समूहको भएको र १९.६८ प्रतिशत सर्वसाधारण समूहको भएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले एफपीओ जारी गर्न लागिएको हो ।
एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                