काठमाण्डौ । दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता सत्यदिप इन्टरनेसनलले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन थाल्ने घोषणा समेत भएको छ ।
दिब्योल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी गान्धार आयल रिफाइनरी (इन्डिया) लिमिटेड र सत्यदिप ग्रुपले सो घोषणा गरेका हुन् ।
सोमबार ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने र सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रलगायतको उपस्थिति रहेको थियो ।
१०० भन्दा बढी रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा गान्धार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वबारे प्रकाश पारे । पेट्रोलियम प्रोडक्ट उत्पादनमा विश्वकै अग्रणी मध्ये एक दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाई थियो ।
‘दिब्योलले हालभारत, यूएई र नेपालमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । हामीसँग विश्वकै उत्कृष्ट फर्मुलेसन तथा रिसर्च एन्ड डेभ्लपमेन्ट सुबिधा छ । गुणस्तर अब्बल भएकै कारण मर्सिडिज बेन्ज, भल्भो र अतुल जस्ता विश्वप्रख्यात ब्रान्डले दिब्योललाई आफ्नो सवारी साधनमा प्रयोग गर्न सिफारिस गरेका छन् । हामीसँग लुब्रिकेन्ट्सका साथै अटो केयर प्रोडक्ट समेत उपलब्ध छ,’ परमारले भने ।
सुलभ मूल्यमा गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराएकै कारण आजका दिनमा दिब्योलको बजार विश्वभर विस्तार हुन सकेको उनले जिकिर गरे । नेपाली उपभोक्तालाई मूल्यमा थप सहुलित दिन र पहुँच विस्तार गर्ने हेतुले आफूहरुले सत्यदिप ग्रुपसँग मिलेर नेपालमै यसको उत्पादन थालेको उनको भनाई छ ।
सत्यदिप ग्रुपका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले गान्धार आयल रिफाइनरीकै फर्मुलेसनमा आधारित भएर यसको उत्पादन नेपालमा गरिएको जानकारी गराए । उनले भने, ‘हामीले यसको सिन्थेटिक आयलबाहेक अधिकांश उत्पादन स्वदेशी उद्योग युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजमार्फत गर्दै आएका छौ । जुन प्लान्टबाट भिडोल र नेपालगोल्ड लुब्रिकेन्ट्स समेत उत्पादन भइरहेको छ ।’
आफ्नै उद्योगबाट उत्पादन हुने हुँदा बजारको मागअनुसार ग्रेड र प्याक साइज उपलब्ध गराउन कुनै समस्या नरहेको उनले बताए । मिश्रका अनुसार सत्यदिप ग्रुपले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक लुब्रिकेन्ट्स प्लान्ट स्थापना गरेको छ । सो प्लान्टमा गुणस्तर जाँचकालागि सुबिधा सम्पन्न ल्याबको समेत व्यवस्था गरिएको छ ।