काठमाण्डौ । नेपालमा सबैभन्दा कडा नियमनमा सञ्चालन हुने क्षेत्र बैंकिङ हो । देशको अर्थतन्त्रसँग सिधा जोडिने यो क्षेत्रमाथि नै पछिल्लो समय भ्रमको खेती मौलाएको छ । यो वा त्यो नाममा बैंक तथा वित्तीय संस्थाहरुमाथि आक्रमण हुने, निश्चित समूहको स्वार्थका कारण निश्चित ब्राण्डमाथि नियोजित प्रहार हुने र सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्म प्रयोग गरी अतिरञ्जना फैलाउने काम पछिल्लो समय तीव्र बनेको छ ।
एउटा समूहले पछिल्लो समय पाथीभरा क्षेत्रमा केवलकार निर्माणमा करोडौं लगानी गरिसकेको आईएमई समूह मुख्य प्रमोटर रहेको ग्लोबल आईएमई बैंकमाथि नियोजित प्रहार गरिरहेको पाइएको छ ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नदिने अभियानमा संलग्न पक्षका विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा ग्लोबल आईएमई बैंकको विषयमा भ्रम फैलाउँदै नियोजित प्रहार गरिरहँदा समेत नियामक निकाय तथा विभिन्न सरकारी एजेन्सीहरु मौन बसेका पाइएको छ ।

पछिल्लो समय केही फेसबुक अकाउण्ट तथा टिकटक प्ल्याटफर्म प्रयोग गरेर पाथीभरामा केवलकार निर्माण गर्न नदिने समूहका सदस्यहरुले ‘ग्लोबल आईएमई बैंक डूब्न लागेको प्रष्ट संकेत देखिन थाल्यो, यो बैंक डूब्दैछ निक्षेप निकालिहाल्नुस्’ जस्ता भ्रमपूर्ण प्रचार गरिरहेको पाइएको छ । बिना तथ्याङ्क र बिनाआधार सामाजिक सञ्जालको दुरुपयोग गरेर केही व्यक्तिहरुले नियोजित प्रहार गरिरहे पनि यस विषयमा गृहमन्त्रालय र त्यसअन्तरगतको प्रहरीका युनिटहरुले चासो दिएका छैनन् ।
यही समूहका सदस्यहरुले ग्लोबल आईएमई बैंकबाट निक्षेप निकालिहाल्न आह्वान गरे पनि त्यसको प्रभाव चाहिँ केही पनि परेको छैन । यस्तै, बैंकको चेक च्यातेर यसको सेवा बहिस्कारको अभियान चलाए पनि त्यसको प्रभाव पनि शून्य बराबर छ । विभिन्न तिकडम प्रयोग गरेरै भ्रम छर्ने र बैंकको वित्तीय स्वास्थ्यमाथि प्रहार गर्न खोजे पनि सो समूहको प्रयासले खासै प्रभाव जमाउन सकेको छैन । गलत ढंगले कुनै बैंक विशेषमाथि प्रहार गरिरहेको समूहको पछि सर्वसाधारण लागेका छैनन् । तर यस्तो प्रवृति बढ्दै गए अर्थतन्त्रकै लागि घातक हुनसक्ने, कुनै बैंक वा वित्तीय संस्थाले बनाएको ब्राण्ड इमेजमाथिको यस्तो प्रहार बेलैमा बन्द गरिनुपर्ने देखिन्छ ।
पाथीभरामा केवलकार बनाउन नदिने अभियानमा लागेको समूहका केही सदस्यहरुले ग्लोबल आईएमई बैंकको वित्तीय स्वास्थ्य नराम्ररी बिग्रिएको भन्दै यसको सेयर समेत बेच्न आह्वान गरिरहेका छन् । तर, उनीहरुले भनेजस्तो सेयर बिक्री गरिहाल्नुपर्ने अवस्था बैंकको देखिन्न ।
बरु निश्चित समूहको स्वार्थ पूरा नभएपछि उनीहरुले गलत ढंगले यो वा त्यो नाममा बैंकमाथि प्रहार गरिरहेका छन् ।
यो समूहका केही व्यक्तिहरु ग्लोबल आईएमई बैंकका कोशी प्रदेशस्थित विभिन्न शाखा कार्यालयमा गएर कर्मचारी धम्क्याउने, थर्काउने, बैंकिङ सेवा प्रभावित पार्नखोज्ने हर्कतमा समेत संलग्न छन् । केही दिनअघि धरान लगायतका यो बैंकका शाखाहरुमा पुगेर त्यो समूहले गैरकानूनी ढंगले सेवा प्रभावित पार्ने काम गरेका थिए र यो क्रममा अन्य शाखाहरुमा समेत भइरहेको बैंकस्थित उच्च स्रोतले जनाएको छ । तर, यस्ता समूह निर्वाध रुपमा बैंकको शाखामै पुगेर सेवा प्रभावित पार्ने, बंैक कर्मचारीलाई थर्काउने र धम्क्याउने काम गरिरहँदा समेत स्थानीय प्रशासन भने मूकदर्शक बनेको पाइएको छ । बैंकिङ क्षेत्र अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्र हो । यहाँ आएर हुलदङ्गा गर्न, यो क्षेत्र बन्द गर्न तथा यो क्षेत्रमा संलग्नहरुलाई धम्क्याउन कानूनले बन्देज गरेको छ । तर एउटा अभियानमा जोडिएकाहरुले ग्लोबल आईएमई बैंकमा निकै थोरै स्वामित्व रहेको आईएमई समूहको रीस सर्वसाधारणको निकै ठूलो लगानी रहेको तथा अरबौं निक्षेप रहेको बैंक विशेषमाथि पोखिरहेका छन् । ‘यो गैरकानूनी हर्कत तत्काल बन्द हुनुपर्छ ।’ नेपाल बैंकर्स एशोसिएसनका एक पदाधिकारीले भने–‘यस्तो अवस्थामा सरकारले सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ । कर्मचारीलाई त्रासमा काम गर्ने वातावरण तत्काल अन्त्य गर्न हामी जोडदार माग गर्दछौं ।’
नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक–‘ग्लोबल आईएमई बैंक’माथि गरिएको प्रहार गलत रहेको बताए । उनले यस्ता गतिविधिलाई उच्छृंखलको संज्ञा दिंदै यसमा सहभागी नहुन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
कस्तो छ बैंकको अवस्था ?
ग्लोबल आईएमई बैंक देशको सबैभन्दा ठूलो बैंक हो । राष्ट्रबैंकले लिएको मर्जर नीतिको सबैभन्दा धेरै सफल प्रयोग गर्ने बैंक समेत हो यो । सफल मर्जरहरु गराएर बैंकलाई सवल र सक्षम रुपमा अगाडि बढाएका कारण बैंकिङ उद्योगमा यो बंैकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘मर्जर किङ’को उपनाम समेत दिइने गरिएको छ ।
साइज निकै ठूलो भए पनि पछिल्लो विषम परिस्थितिमा समेत नियमित लाभांश वितरण गरिरहेको बैंक समेत हो ग्लोबल आईएमई ।
अर्थतन्त्र मन्दीमा गएको बेला केही बैंकहरुको अवस्था निकै नाजुक भए पनि साइज ठूलो हुँदा समेत धेरै वित्तीय सूचकमा आफूलाई मेन्टेन गरेर अगाडि बढिरहेको बैंक समेत ग्लोबल आईएमई हो ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्टमा समेत हल्ला फैलाइएजस्तो बैंकको अवस्था बिग्रिएको र टाट नै पल्टिने अवस्थामा पुगेको देखिन्न ।
दोश्रो त्रैमाससम्म यो बैंकले ३ अर्ब बढी खूद नाफा कमाएको छ । यो अवधिमा ४ अर्ब २० करोड बढी सञ्चालन मुनाफा आर्जन गरेको बैंकको वितरणयोग्य मुनाफा समेत अरुको जस्तो नेगेटिभ छैन ।
अधिकांश बैंक तथा वित्तीय संस्था रिकभरि नहुने समस्याबाट प्रताडित भइरहेको समयमा ग्लोबल आईएमई बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र छ । यो भनेको राष्ट्रबैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा कम नै हो ।
अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ११ रुपैयाँ ३१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकले यो वर्षको सोही अवधिमा सुधार गरेर इपीएसलाई १६ रुपैयाँ २ पैसाको उचाईमा पुर्याएको छ ।
बैंकको पूँजीकोष अनुपात पनि सन्तोषजनक नै देखिन्छ भने विषम परिस्थितिमा समेत रिटर्न अन इक्वीटी(आरओई) ९.६९ प्रतिशत रहेको छ ।
दोश्रो त्रैमाससम्म यो बैंकले ८ अर्ब २९ करोड खूद ब्याज आम्दानी गरेको छ । ३८ अर्ब ११ करोड चुक्तापूँजी रहेको कम्पनीको रिजर्भको आकार २३ अर्ब ६७ करोड माथि रहेको छ।
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा निक्षेप बढाएको बैंकले कर्जा प्रवाहमा समेत प्रगति हासिल गरेको देखिन्छ ।
मूल्य आम्दानी अनुपात १३.८६ गुणा देखिएको छ भने प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६७९.७४ रुपैयाँ, तरलता अनुपात ३३.४६ प्रतिशत रहेको छ ।
यो बैंकको कुल सम्पत्ति ५६७ अर्ब रहेको छ भने ५० लाखभन्दा बढी ग्राहक रहेका छन् । ७७ जिल्लामै सेवा बिस्तार गरिसकेको यो बैंकका मोवाइल र इन्टरनेट बैंकिंगका प्रयोगकर्ताको संख्या मात्रै २० लाख बढी रहेको छ । कुल कारोबारमा ७३ प्रतिशत डिजीटल कारोबार गर्ने गरेको यो बैंकका डेबिट कार्ड प्रयोगकर्ताको संख्या मात्र पनि १० लाख बढी छ । ८१ हजारभन्दा बढी कर्जा लिएका ग्राहक रहेका बैंकको देशभर ३८३ एटीएम, ३५५ शाखा, २३७ शाखारहित इकाईको विशाल सञ्जाल रहेको छ ।