काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले यातायात आवागमनलाई चुस्त बनाउन हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं ५ अन्तर्गतका हाँडीगाउँ क्षेत्रका सडक फागुन ७ गतेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरेको हो ।
यससागै अब हाँडीगाउँको थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल मार्ग–हाँडीगाउँ मार्गतर्फ मात्रै प्रवेश गर्न मिल्ने भएको छ ।
यस्तै, विशालनगर तर्फबाट आउने सवारीसाधनलाई भीमसेन मार्ग हुँदै वडा नं ५ को कार्यालयतर्फ जान पाउने छैनन् । यो क्षेत्रबाट आउने सवारी साधनलाई हात्ती महांकाल तर्फ मात्रै जान मिल्ने बनाइएको छ ।
यसैगरी महानगरले हाँडीगाउँ हुँदै ढुंगेधारातर्फ प्रवेश गर्न समेत रोक लगाउदै यो बाटो हुँदै आउने सवारीसाधनलाई थटु मार्गतर्फ पठाइने तयारी गरेको छ। नक्साल भाटभटेनी तर्फबाट आउने सवारीसाधनलाई पनि वडा नं ५ को कार्यालयबाट थटु मार्गतर्फ जान रोक लगाई भीमसेन मार्गतर्फ पठाउने तयारी गर्दै ढुंगेधाराबाट हात्ती महांकालतर्फ र वडा नं ५ कार्यालयको दक्षिणबाट गहना पोखरीतर्फ जान पनि निषेध लगाइएको छ ।
महानगरले टंगालबाट सवारीसाधन प्रवेशमा रोक लगाइ बाल मन्दिरबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिरतर्फबाट मात्रै प्रवेश गर्न पाइनेछ व्यवस्था गरिएको छ ।