काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची तयार पारेको छ ।
नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य ११२ कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।
जसमा कुल १७ वटा बीमा कम्पनी परेका छन् । नेपाल पुनर्बीमा कम्पनीसहित १७ बीमा कम्पनीले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को मापदण्ड पुरा गरेकोले योग्य कम्पनीको सूचीमा परेको नेप्सेले जनाएको छ ।
सो व्यवस्थामा उल्लेख भएबमोजिम कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्तापुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आवको ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीलाई मात्रै मार्जिन कारोबार सुविधा दिने व्यवस्था छ ।
मार्जिन कारोबार योग्य कम्पनीहरुमा १७ बीमा कम्पनी परेका छन् । जसमा ९ निर्जीवन बीमा कम्पनी, ७ जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनी रहेका छन् ।
जीवन बीमातर्फ प्रभु महालक्ष्मी लाइफ, नेपाल लाइफ, नेशनल लाइफ, एलआइसी नेपाल, हिमालयन लाइफ, एशियन लाइफ र सुर्यज्योति लाइफ रहेका छन् । त्यस्तै, निर्जीवन तर्फ नेको, शिखर, प्रभु, एनएलजी, आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी, नेपाल, हिमालयन एभरेष्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छन् ।
साथै नेपाल पुनर्बीमा कम्पनी पनि मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा परेको छ । लगानीकर्ताले अब उक्त १७ बीमा कम्पनीको सेयर धितो राखेर सेयर धितो कर्जा लिन सक्नेछन् ।