काठमाण्डौ । बेष्ट फाइनान्स लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४२ प्रतिशत र सर्वसाधारण समूहको ४८.५८ प्रतिशत कायम भएको छ ।
यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६१.४२ प्रतिशत र सर्वसाधारण समूहको ३८.५८ प्रतिशत कायम थियो । पूँजी संरचना परिवर्तनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको कम्पनीले जनाएको छ । कम्पनीको गत कात्तिक १४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट सेयर संरचना अनुपात परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।
यस्तै कम्पनीको गत माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई प्रक्रियामा जानका लागि आफ्नो सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा संस्थापक सेयरधनीका लागि ७ दिने सूचना जारी गरेको थियो । संस्थापक सेयरधनीहरुबाट सेयर परिवर्तन नगर्ने सम्बन्धमा कुनै निवेदन नपरेकाले सो सेयर स्वामित्व संरचना परिवर्तनका लागि संस्थापक सेयरधनीहरुको चैत ५ गते मंगलबारसम्मको रेकर्डमा गणना गरिने कम्पनीले जनाएको छ ।
कम्पनीबाट सेयर नामसारी(सेयर खरिद बिक्री,घरायसी नामसारी,मृत्यु नामसारी,अंशबण्डा आदि)स्वीकृति लिई सेयर नामसारी गर्न बाँकी रहेका सबै सेयरधनीलाई सेयर नामसारी गरिसक्ने कम्पनीले आग्रह गरेको छ ।