काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।
यससँगै नेप्सेले करिब २ महिनापछि नेतृत्व पाएको छ । नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त थियो ।
यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएको सार्वजनिक भएको थियो । तर उनको नियुक्ती मुख्यसचिवबाट प्रमाणित नभएको जनाइएको छ ।
नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो ।