काठमाण्डौं । नवनियुक्त सीईओ चूडामणि चापागाईंले नेप्सेमा आईटीको विकासमा विशेष ध्यान दिंदै बिश्वमा चलेको नयाँ रणनीतिक साझेदार भित्र्याउने बताएका छन् ।
आफूले अब अन्तराष्ट्रिय साझेदार भित्र्याएर उपलब्ध सूचनाहरु पारदर्शी हुने गरी काम गर्ने पनि बताए ।
आज नेप्सेमा पदबाहाली गर्दै चापागाईले यस्तो बताएका हुन् । उनले भने,‘नेप्सेमा टीम वर्क गर्दै ऐन/कानूनभित्र रहेर नेप्सेमा रणनीतिक साझेदार भित्र्याउन आबश्यक छ । लगानीकर्ताहरुमा बिश्वास दिलाउँदै पारदर्शिताका साथै कर्पोरेट गभरनेन्समा समेत ध्यान दिनेछु ।'
लगानीकर्ताहरुलाई 'सहज सेवा' दिन आवश्यक सबै खालका सुधारहरु गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
नेप्सेमा कर्मचारीहरुलाई उत्साह प्रदान गर्दै आफूले टिम वर्कमा पनि विशेष जोड दिने उनले बताए ।
अहिले पूँजीबजारमा लगानीकर्ताहरुमा बिश्वासको वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सचेतनाको काममा समेत लाग्ने बताए । आफ्नो कार्यकालभर सिडिएससी, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसँग राम्रो समन्वय गरेर काम गर्ने वचन दिए।
उनले नेप्सेको नेतृत्वमा बसेर आफूले कम बोल्ने र बढी काम गरेर देखाउने प्रतिबद्धता समेत जनाए ।
चापागाईंलाई सोमबारको मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओ बनाएको हो । उनले मंगलबार(आज) अर्थमन्त्रालयबाट नियुक्तिपत्र बुझेका थिए । लगत्तै नेप्सेमा गएर पद बहाली गरेका हुन् ।
यसअघि नारद लुइँटेललाई नेप्सेको सीईओ बनाइएको निर्णय बाहिरिए पनि त्यो परिपक्व नहुँदै सरकारले रणनीति फेरेको हो । सरकारको बदलिँदो रणनीतिअनुसार नेप्सेको सीईओमा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै झापाको दमक निवासी चापागाईंले बाजी मारेका हुन् ।