काठमाण्डौ । काठमाण्डौ उपयत्यकामा परेको वर्षासँगै वायु प्रदुषणमा उल्लेख्य कमी आएको छ । आज काठमाण्डौ विश्वको प्रदूषित शहरको १० औं स्थानमा परेको छ । पछिल्ला केही दिनदेखि काठमाण्डौ सूचीको शीर्ष स्थानमा रहदै आएको थियो ।
पछिल्लो समय काठमाण्डौको वायुको गुणस्तर ३५२ एक्यूआईसम्म पुगेकोमा आज त्यो घटेर १५२ एक्यूआईमा सीमित बनेको छ । आज सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर रहेको छ । जहाँको वायुको गुणस्तर १७० एक्यूआई रहेको छ ।
यस्तै चीनको साङघाई दोस्रो र चीनकै बेइजिङ तेस्रो स्थानमा छ। यसैगरी सूचीको चौथौ र पाँचौं स्थानमा क्रमशःकंगोको किन्हासा र इन्डोनेशियाको जकर्ता रहेका छन् ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाण्डौको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको थियो। वर्षा भएसँगै उपत्यका आसपासका जंगलमा लागेको डढेलो निभेको छ।
बुधबार दिउँसोदेखि र आज बिहान पनि काठमाण्डौमा सामान्य हावाहुरीसँगै वर्षा भएको छ। जसका कारण यहाँको वायु प्रदूषणको मात्रामा केही कम आएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।