काठमाण्डौ । आज नेपाल सेयरबजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल स्टक एक्सचेन्ज(नेप्से) का कार्यकारी अधिकृत चूडामणि चापागाईंबीच परिचयात्मक भेटघाट सम्पन्न भएको छ। भेटघाटको अवसरमा संघको तर्फबाट एक औपचारिक पत्र प्रस्तुत गरिएको थियो । जसमा संघको स्थापना, उद्देश्य, भविष्यका योजना र पूँजीबजारलाई व्यवस्थित, गतिशील, पारदर्शी तथा आयामिक बनाई समृद्ध अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन संवाद र छलफल आवश्यक रहेको उल्लेख गरिएको छ।
नेप्सेका कार्यकारी अधिकृत चूडामणि चापागाईंले वर्तमान बजारको सटीक चित्रण प्रस्तुत गर्दै सुदृढ पूँजीबजार निर्माणमा सेयरबजार लगानीकर्ता संघले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे। उनले सबै लगानीकर्ताको हितलाई ध्यानमा राखी काम गर्न शुभकामना दिए ।
यसैगरी, प्रवक्ता मुराहरी पराजुलीले बधाई र शुभकामना व्यक्त गर्दै सुदृढ पुँजीबजार निर्माणमा सबैको सकारात्मक भूमिका आवश्यक रहेको दोहोर्याए। कार्यकारी अधिकृतले लगानीकर्तालाई सक्षम र चेतनशील बनाउने अभियानमा सेयरबजार लगानीकर्ता संघ अग्रसर हुन लागेकोमा खुसी र बधाई व्यक्त गरे।
कार्यक्रममा संस्थापक महासचिव रविन कँडेलले नेप्सेमा व्यापक सुधार र युग सुहाउँदो परिवर्तन अपेक्षित रहेको बताए। वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, सचिव भुवन ढकाल, प्रवक्ता धनन्जय पौडेल, सदस्य मिना भट्ट , विवेक श्रेष्ठ र सुदर्शन गौतमले भेटघाटमा उपस्थित भई विविध विषयहरू राखेका थिए। उनीहरूले पूँजीबजारको विकास, लगानीकर्ताको हकहित र बजार सुधारका लागि आवश्यक कदमहरूबारे छलफल गरेका थिए।
यो भेटघाटले पूँजीबजारको सुदृढीकरण र लगानीकर्ताको हितमा सकारात्मक सहकार्यको आधार तयार गरेको जनाइएको छ। नेपाल सेयरबजार लगानीकर्ता संघ र नेप्सेबीचको यो पहलले भविष्यमा बजारलाई थप विश्वसनीय र समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।