काठमाण्डौ । पूँजीबजार सम्बद्ध ३ वटा लगानीकर्ता संगठनका पदाधिकारीहरुले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सीईओ चुडामणी चापागाईसाग संयुक्त रुपमा भेटवार्ता गरेका छन् । चापागाईले पदभार ग्रहण गरेको अवसरमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न र नेपालको पूँजी बजारको समग्र अवस्थाका बारेमा अवगत गराउन उक्त भेटघाट गरिएको हो ।
भेटघाटमा सेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
उक्त अवसरमा चापागाईसँग पूँजीबजार तथा वित्तीय क्षेत्रमा भएको दीर्घ अनुभव, स्पष्ट नीति दृष्टिकोण र दुरदर्शी नेतृत्व क्षमताले नेप्से मात्र होइन, समग्र नेपाली पूँजीबजार प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी, विश्वसनीय र पारदर्शी बनाउने दिशामा उल्लेखनीय प्रगति गराउने विश्वास व्यक्त गरिएको छ ।
चापागाईको कार्यकालमा पारदर्शिता, प्राविधिक आधुनिकीकरण, संस्थागत सुशासन, र लगानीकर्तामैत्री वातावरणको प्रवर्द्धन हुने, साथै बजारमा दीर्घकालीन स्थायित्व र लगानीकर्ताको विश्वास अभिवृद्ध ठोस परिणाम आउने अपेक्षा गरिएको छ । विशेषगरी, नीति स्पष्टता, प्रभावकारी नियमन तथा नवीनतम प्रविधिको कार्यान्वयनमार्फत बजारमा गुणात्मक सुधार आउनेमा आशावादी रहेको ३ वटै संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
‘देशका सबै वर्ग र भूगोलका नागरिकसम्म पूँजीबजारको पहुँच पुगोस्, लगानीकर्ताको हक–हितको संरक्षण होस्, र नेपालको आर्थिक समृद्धिमा पूँजीबजारले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभेच्छासहित, यहाँको कार्यकाल सफल, समृद्ध र ऐतिहासिक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नेप्सेको पुनर्संरचना प्रक्रिया लामो समयदेखि विचाराधीन अवस्थामा रहे पनि हालैका निर्णयहरूले यसलाई गति दिएको देखिन्छ, विज्ञप्तीमा भनिएको छ, ‘निजी क्षेत्रको सहभागिता, पूँजी वृद्धिको योजना, र संस्थागत सुधारहरू मार्फत नेप्सेलाई आधुनिक, पारदर्शी, र प्रतिस्पर्धात्मक बनाउने प्रयासहरू भइरहेको छ। यस प्रक्रियामा देखिएका विवादहरू र चुनौतिहरूलाई सम्बोधन गर्दै यथासक्य कार्यान्वयनमा अघि बढ्न सफलता मिलोस भन्ने पनि शुभकामना दिन चाहान्छौं ।’




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।