काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको छ । आज नेप्से परिसूचक बढेसँगै बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो ।
आज धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघिको हालसम्मकै उच्च बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।
यस हिसाबले यसअघिको उच्चभन्दा ६१ अर्ब बजार पूँजीकरण थपिएको छ । पछिल्लो समय मौद्रिक नीतिमा सेयर बजार लगायत समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने व्यवस्था भएसँगै नेप्से परिसूचकमा क्रमिक सुधार देखिएको छ । लचिलो मौद्रिक नीतिले लगानीकर्ताको मनोबल उकासिदा लामो समय साइडवेज चलेको पूँजी बजार चलायमान बन्न पुगेको छ ।
यस्तै आजसम्म फ्लोट मार्केट क्यापिटलाइजेशन पनि १६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।
सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २ हजार ८९२ विन्दु नजिक पुगेको छ ।