काठमाण्डौ । अष्ट्रेलियामा भू-वैज्ञानिकहरूले ठूलो सफलता हासिल गरेका छन्। पश्चिमी अस्ट्रेलियाको पिलबारा क्षेत्रमा वैज्ञानिकहरूले फलामको ठूलो भण्डार फेला पारेका छन्। यो विश्वमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो फलामको भण्डार भएको जनाइएको छ ।
यस रिजर्भको मूल्य ६ ट्रिलियन अनुमान गरिएको छ। यो खोजले विश्व फलामको बजारमा क्रान्ति मात्र ल्याउने नभई पृथ्वीको भूगर्भीय इतिहासबारे पनि नयाँ बुझाइ ल्याउने विज्ञहरू बताउँछन् ।
अष्ट्रेलियाको पिलबारा क्षेत्र यसको सुख्खा भू–भाग र समृद्ध खनिज स्रोतहरूको लागि परिचित छ। यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो फलाम अयस्क भण्डार हो। यी संरचनाहरूको आयु पहिले २.२ बिलियन वर्ष थियो, अहिले यसलाई परिमार्जन गरी १.४ बिलियन वर्षमा पुर्याइएको छ ।
अष्ट्रेलियाको यो खोजमा प्रविधिले ठूलो भूमिका खेलेको छ । उन्नत आइसोटोपिक डेटिङ र रासायनिक विश्लेषणले भू–वैज्ञानिकहरूलाई भण्डारको विशाल आकार मात्र होइन यसको उत्कृष्ट गुणस्तर पनि पत्ता लगाउन सहयोग पुर्याएको जनाइएको छ । ३० प्रतिशत फलाम सामग्रीको प्रारम्भिक अनुमान ६० प्रतिशत भन्दा बढीमा परिमार्जन गरिएको छ।
अष्ट्रेलियाले पहिले देखिनै विश्वव्यापी फलाम बजारमा एक प्रमुख स्थानको रुपमा रहँदै आएको छ। यो खोजले यसको प्रभावलाई अझ बलियो बनाएको छ। यस भण्डारको आकारले विश्वभर फलामको मूल्यलाई असर गर्ने अपेक्षा गरिएको छ। यसले फलाम आयातमा निर्भर देशहरूबीचको आर्थिक र रणनीतिक सम्बन्धलाई परिवर्तन गर्नेछ। यो परिवर्तनले नयाँ गठबन्धन र व्यापार सम्झौताहरू जन्माउन सक्ने र विश्वव्यापी खनन परिदृश्यहरु परिवर्तन हुने जनाइएको छ ।