काठमाण्डौ । गाजा पट्टीमा भोकमरीले लिएको भयावह रुपका कारण हालसम्म सयौं नागरिकले ज्यान गुमाएका छन् भने हजारौं मान्छेहरू जीवन-मरणको दोसाँधमा छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन, गार्डियन, एपी र अलजजीरासहितका स्रोतहरूले हालै प्रस्तुत गरेका विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै गाजामा कम्तिमा १५ जनाको मृत्यु भोकमरीका कारण भएको पुष्टि भएको छ।
सबैभन्दा दुःखद पक्ष के भने मृत्यु हुनेमध्ये अधिकांश साना बालबालिका छन्। रिपोर्ट अनुसार हालसम्म गाजामा ८० जना बालबालिकाले भोक र कुपोषणका कारण ज्यान गुमाइसकेका छन्। हाल कम्तीमा ३० हजार पाँच वर्षमुनिका बालबालिका गम्भीर कुपोषणको अवस्थामा छन्।

मातृदूधसमेत नपाउने अवस्था
गाजाको उत्तरी भागस्थित कमल अदवान अस्पतालका चिकित्सकहरूका अनुसार अधिकांश आमाहरू आफैं अत्यधिक कमजोर भएकाले शिशुलाई दूध दिन सक्ने अवस्था छैन। अस्पतालका डाक्टरहरूले एकै दिनमा दर्जनौँ कुपोषित बालबालिकाको उपचार गर्दा गर्दै मृत्यु हुन थालेको पुष्टि गरेका छन्।
‘हामी हेरिरहने मात्रै बनिरहेका छौं’
अस्पतालका एक बाल रोग विशेषज्ञले भनेका छन्, “हामी बच्चाहरूलाई न त खान दिन सक्छौं, न उपचार। यो युगकै सबैभन्दा दुःखद मानवीय दृश्य हो।” उनका अनुसार अब अस्पतालमा न औषधी बाँकी छ, न पोषणयुक्त खाना।

बन्देज र हमलाका कारण खाद्यान्न आपूर्ति ठप्प
इजरायली आक्रमण र नाकाबन्दीका कारण गाजामा अत्यावश्यक खाद्यान्न आपूर्ति बन्द छ। दैनिक करिब ५०० ट्रक राहत सामग्री आवश्यक पर्नेमा अहिले जम्मा १३०–१४० ट्रक मात्रै गाजामा प्रवेश गर्न दिइएको छ। अधिकांश सडक र आपूर्ति मार्गमा आक्रमण भइरहेकाले नागरिकहरू खाद्यान्न लिन जाँदा समेत ज्यान गुमाइरहेका छन्।
‘मानवनिर्मित भोकमरी’
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार गाजामा हाल देखिएको भोकमरी कुनै प्राकृतिक विपद् नभई पूर्णरूपमा मानवनिर्मित संकट हो। अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरू तथा १०० भन्दा बढी गैरसरकारी संस्थाहरूले संयुक्त वक्तव्य जारी गर्दै तुरुन्त युद्धविराम र मानवीय सहायता पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय दबाव बढ्दै
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको अवस्था ‘नरकको दृश्य’ भन्दै चेतावनी दिएका छन्। २८ भन्दा बढी राष्ट्र र सयौं संस्थाहरूले इजरायलमाथि खाद्यान्न आपूर्ति र अस्पताल सेवाको अबरोध अन्त्य गर्न दबाब दिएका छन्।
गाजाको यो मानवीय संकट शब्दमा व्यक्त गर्न कठिन छ। भोकले बच्चाहरू मरिरहेका छन्, आमाहरू निरीह बनेका छन् र अस्पतालहरू चित्कारले भरिएका छन्। संसार चुप छ — तर गाजाको आवाज अब अँध्यारोमा हराउनु हुँदैन।