काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकमा अर्बौै रकम घोटाला भएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानले देखाएको छ । सिआइबीले अनुसन्धान गरेको प्रतिवेदनमा कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको देखिएको हो ।
सिआइबीले तयार पारेको प्रतिवेदनमा सवा ३ अर्ब रुपैयाँ घोटाला भएको र १११ जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।
निक्षेपकर्ताको झण्डै ५ अर्ब रुपैयाँमध्ये ३ अर्ब २० करोड रुपैयाँ बैंकको भल्टबाट नै विभिन्न नक्कली कागजात बनाई बाहिर निकालिएको निष्कर्ष सिआइबीको रहेको छ ।
राष्ट्र बैंकको अधिकृत प्रथम (निर्देशक)पदबाट अवकाश भएका भुवन बस्नेतसहित बैंकका पुर्वअध्यक्ष समेत १११ जनालाई प्रतिवादी बनाइएको सिआइबीले जनाएको छ ।
प्रतिवादीमध्ये ४ जना पक्राउ परेको र ३ जनाको मृत्यु भइसकेको छ भने १०४ जना फरार प्रतिवादी रहेको सिआइबीको अध्ययनले देखाएको छ । उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको सिआइबीले जनाएको छ ।