काठमाण्डौ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ ।
पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो । १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने रहेका छन् । महासचिवमा इन्जिनियर चिरञ्जीवी गौतम चयन भएका छन् भने सचिवमा प्रशुन्न भण्डारी र राजकुमार सुनार छन् ।
कोषाध्यक्षमा पोशराज पौडेल, सह–कोषाध्यक्ष रुद्र रेग्मी, प्रवक्ता कृष्णप्रसाद आचार्य चयन भएका छन् ।
सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपालकृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर रहेका छन्।
भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । उनले वैदेशिक अनुभव, सीप र पुँजीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्दै आवश्यक परे कानुनी संशोधन गर्न आफू तयार रहेको बताए । उनले भने, ‘कि विदेश आउनुस् कि गेरुवस्त्र लगाएर बस्नुस् भन्नेहरुलाई चुनौती दिँदै नेपालमै सम्भावना खोज्ने जुन प्रयास फिनेले गरेको छ, त्यो प्रशंसनीय छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमीहरुलाई जोड्ने फिनेको अभियानमा निजी क्षेत्रले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा प्रशस्त अवसर भएको बताउँदै विदेशको सीप नेपालमा लगानी गर्न आह्वान गरे । उनले स्टार्टअप क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे । उनले भने, ‘स्टार्टअपका लागि कोष नै बनाएर लगानी गर्न आवश्यक छ ।’
केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहले फिनेले छोटो समयमै देश तथा विदेशमा आफ्नो सञ्जाल विस्तार गरेको बताए । नेपाली युवा उद्यमीहरूलाई एकत्रित गरेर देशभित्रै उद्यमशीलता र रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अभियानमा फिने लागेको उनको भनाइ थियो ।
यस्तै उपाध्यक्ष शमीम अन्वरले फिनेले फिनेले व्यवसायिक सहकार्य, ज्ञान हस्तान्तरण, प्रदर्शनी र बजारीकरणमा काम गर्ने बताए ।
आईईसी वरिष्ठ उपाध्यक्ष गोकर्णप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै फिनेको स्थापनाको औचित्यबारे प्रष्ट पारेका थिए ।
आईईसी महासचिव दिपेन घलेले नेपाली उद्यमीहरुबिच सहकार्य, मार्गदर्शन र अवसरहरुको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरुलाई सशक्त बनाउँदै जाने लक्ष्य फिनेले लिएको बताए ।
यस्तै फिने बागमतीका सल्लाहकार रामकुमार थपलियाले सबै क्षेत्रका उद्यमीहरुलाई समेट्दै जाने लक्ष्य रहेको बताए । बागमती र गण्डकीपछि क्रमशस् अन्य सबै प्रदेशमा पनि संगठन विस्तार गर्ने लक्ष्य लिएको नेपाल संयोजक रामशरण थापाले बताए ।
कार्यक्रममा फिने अमेरिकाका अध्यक्ष सविन्द्र थापा, फिने हङकङका अध्यक्ष इन्दर पुन र फिने बागमतीका अध्यक्ष कृष्ण खतिवडाबिच प्यानल डिस्कसन भएको थियो । उद्यमीहरुबिच भएको सीप र उत्पादनलाई अन्तर प्रदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनेगरी सहकार्य गर्न आवश्यक रहेको मत उनीहरुको थियो ।