काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको चांगन अटोमोबाइलको सब–ब्रान्ड दिपलले बनाएको अटोनोमस फ्लाइङ कार सार्वजनिक गरिएको छ । आजदेखि सुरू भएको नाडा अटो सो २०२५ को अवसरमा प्रधानमन्त्री ओलीले उक्त फ्लाइङ कार सार्वजनिक गरेका हुन् ।
इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) प्रविधिमा आधारित यो फ्लाइङ कार गत शनिवार नेपाल ल्याइएको थियो ।
यो फ्लाइङ कारलाई भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलकका रूपमा प्रस्तुत गरिएको छ। प्रदर्शनीमा आउने जो कोहीले पनि यसलाई नजिकैबाट अवलोकन गर्न पाउनेछन्।
डीपलको यो इभीटीओएल फ्लाइङ कारको उचाइ १.९३ मिटर र चौडाइ ५.७३ मिटर रहेको छ। यसले ६२० केजी भार बोकेर एकपटकको फुल चार्जमा ३० किलोमिटरसम्म उड्न सक्छ। कारको अधिकतम गति प्रतिघन्टा १३० किलोमिटर रहेको कम्पनीले जनाएको छ।
नेपालमा पहिलोपटक सार्वजनिक भएको यस कारले भविष्यमा हवाई मोबिलिटी र प्रविधिको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                