काठमाण्डौ । टीभीएस मोटर कम्पनी र नेपालका लागि यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन्।
दुवै कम्पनीले बाढी प्रभावित क्षेत्रका समुदायको पुनःस्थापना र पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यसहित प्रहरी कार्यालय, अस्पताल, विद्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई मोटरसाइकल उपलब्ध गराएका हुन्।
हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवालाई पाँच–पाँच वटा प्रदान गरिएको छ। त्यस्तै, विदुर नगरपालिकालाई दुईवटा तथा नुवाकोट केन्द्रीय कारागार र त्रिशूली अस्पताललाई एक–एक वटा मोटरसाइकल उपलब्ध गराइएको छ।
यसैगरी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई पनि एक–एक वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ।
कम्पनीका अनुसार यस सहयोगले स्थानीय तह तथा सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरूको आवागमन सहज बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी बाढीबाट प्रभावित समुदायमा कार्यरत संस्थाहरूलाई यातायातको सुविधा उपलब्ध गराउँदा उनीहरूको कार्यसम्पादन क्षमता अभिवृद्धि हुने र समुदायले प्राप्त गर्ने सेवाको पहुँच विस्तार हुने कम्पनीको विश्वास छ।
टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै व्यावसायिक विस्तारसँगै समुदायको हितमा योगदान पुर्याउनु पनि कम्पनीको प्राथमिकता रहेको बताए।
‘नेपाल टीभीएस मोटर कम्पनीका लागि महत्त्वपूर्ण बजार हो। हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि उत्तिकै आवश्यक छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘विभिन्न संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ।
टीभीएस र जगदम्बा मोटर्सले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्थानीय समुदायको विकास र सार्वजनिक सेवा प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।