काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ४१ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत आवको अन्त्यसम्म सबै बीमकको सेयरबजारमा ४० अर्ब ८२ करोड ९० लाख रुपैयाँ लगानी रहेको हो ।
यो लगानी रकम अघिल्लो आवको तुलनामा ६८.९२ प्रतिशत बढी हो । अघिल्लो आवमा बीमा कम्पनीहरुको सेयरबजारमा २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ मात्रै लगानी रहेको थियो ।
गत आवसम्म आइपुग्दा सबै बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी उल्लेख्य बढाएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा जारी बीमकको लगानी निर्देशिका बमोजिम जीवन, निर्जीवन, लघुबीमा र पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ ।
साथै, प्राधिकरणले बीमकको लगानीलाई थप खुकुलो बनाउँदै सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाइदिएको थियो । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । जस्तै, कुनै एक बैंकको चुक्तापूँजी एक अर्ब रुपैयाँ छ भने बीमा कम्पनीहरुले उक्त बैंकको सेयरमा १५ करोड रुपैयाँसम्म लगानी गर्न पाउनेछन् ।

प्राधिकरणले सेयरबजारमा गर्ने लगानीको सीमा बढाएपछि बीमा कम्पनीहरुले आक्रामक रुपमा लगानीको दायरा बढाएका हुन् । गत आवमा जीवन बीमा कम्पनीहरुले मात्रै सेयरबजारमा ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ लगानी गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ५९.५८ प्रतिशत बढी हो । अघिल्लो आवको तुलनामा गत आवमा सबै जीवन बीमा कम्पनीको यो क्षेत्रमा लगानी उल्लेख्य बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले गत आवमा ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् । यो लगानी अघिल्लो आवको तुलनामा १४।५४ प्रतिशत बढी हो । अघिल्लो आवमा निर्जीवन बीमकहरुको यो सेक्टरमा लगानी ३ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ थियो ।
यता पुनर्बीमा कम्पनीहरुले पनि सेयरबजारमा ५ अर्ब २८ करोड रुपैयाँ लगानी गरेका छन् भने लघुबीमकहरुले ६० करोड ३ लाख रुपैयाँ लगानी गरेका छन् । पुनर्बीमा कम्पनीहरुको लगानी ३४९.५४ प्रतिशत बढेको छ भने लघुबीमकहरुको लगानी ६६८४.५८ प्रतिशतले बढेको छ ।
बीमा कम्पनीहरुमा सबैभन्दा धेरै सेयरबजारमा लगानी गर्ने कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले मात्रै सेयरबजारमा १० अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानी अघिल्लो आवको तुलनामा ९१.७१ प्रतिशत वृृद्धि भएको छ ।