काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन मात्रै सेयर कारोबार भयो । चार दिनको कारोबारमा बजार २ दिन घट्यो भने २ दिन नै बढ्यो । अघिल्लो साता भने जेनजी आन्दोलनको कारण जम्मा १ दिन मात्रै सेयर कारोबार भएको थियो ।
अघिल्लो साता २ हजार ५११.९१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साताको ४ दिन कारोबारमा नेप्सेमा १४०.०९ अंकको सुधार आयो । अघिल्लो साता १ दिनको कारोबारमा बजार १६० अंकले घटेको थियो । यो साता बजार बढ्दा बजार पूँजीकरणमा पनि बढोत्तरी आयो । अघिल्लो साता ४१ खर्ब ९९ अर्ब रहेको बजार पूँजीकरण यो साता ४४ खर्ब ३३ अर्ब रह्यो । यस हिसाबले यो साता बजार पूँजीकरण २ खर्ब ३४ अर्बले बढ्यो ।
प्राविधिक पक्षः
साप्ताहिक चार्टमा बुलिस इन्गल्फिङ प्याटर्न
यदि अघिल्लो रातो क्याण्डललाई पछिल्लो हरियो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ प्याटर्न भनिन्छ । यसले सम्भावित बढ्दो बजारलाई संकेत गर्छ । यस्तो प्याटर्न प्राय गरेर सपोर्ट जोनमा बन्ने गर्छ । तर यस विपरित यदि अघिल्लो हरियो रातो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पूरै ढाक्छ भने त्यसलाई वियरिस इन्गल्फिङ प्यार्टन भनिन्छ । यस्तो प्याटर्न प्रायः प्रतिरोधको विन्दुमा बन्ने गर्छ ।
अहिलेको अवस्था कस्तो ?
लामो समय घटेको बजारमा यो साता बुलिस इन्गल्फिङ प्याटर्न बनेको छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ । यस्ता प्याटर्न भ्यालिड र इन्भ्यालिड दुबै हुन सक्छन् । यो प्याटर्न सपोर्ट जोनमा बनेका कारण यो प्याटर्न भ्यालिड हुन सक्ने सम्भावन बढी रहन्छ ।
मूभिङ एभरेज
मूभिङ एभरेज भनेको अंकहरुको जोडबाट निकालिने एउटा औषत रेखा हो । यसमा एउट अंक एभरेज निकालिदै जान्छ । यस्तो एभरेज ५,२०,५० र २०० दिने औषत रेखाहरु हुने गर्छन । छोटो समयको बजारको चाल हेर्न छोटो नै समयको मुभिङ एभरेज रेखा हेर्ने गरिन्छ भने लामो समयको बजारको चाल हेर्न लामो समयकै औषत रेखा हेर्ने गरिन्छ । यस्ता रेखाहरुले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गरेका हुन्छन् ।
हालको बजारको अवस्थालाई नियाल्दा २५११ विन्दुबाट फर्केको बजारले अब २०० दिने मुभिङ एभरेजको रेखा २७०४ को विन्दु आसपासमा प्रतिरोध लिन सक्छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
केही समय पहिले अपर ब्याण्डबाट खसेको बजार हाल बोलिङ्गर ब्याण्डको आधारमा तल्लो ब्याण्डबाट फर्केको देखिन्छ । म्याक्डीको आधारमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम नेगेटिभ रहेता पनि फिक्का हुँदै गएका छन । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ४२ को तहमा पुगको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार बिस्तारै सम्हालिने खोजेको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ३०६५
प्रतिरोध २ – २९९५
प्रतिरोध १– २८७३
पिभट प्वइन्टः २८०१
घटेमा सपोर्ट
सपोर्ट १– २६७९
सपोर्ट २– २६०८
सपोर्ट ३ –२४८५

निष्कर्षः अघिल्लो साता १६० अंकले घटेको बजारमा यो साता १४० अंकको सुधार आयो । यो साता बजार बढ्दा कारोबारमा पनि सुधार आयो । साप्ताहिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा यो साता सपोर्ट जोनमा बुलिस इन्गल्फिङ प्यार्टन बनेको छ । यसले सम्भावित रुपमा बजार घट्न रोकिएर सुधार हुँदै गरको भन्न सक्छि ।
यद्यपी बजार माथि नै लाग्यो भन्नलाई २०० दिने मूभिङ एभरेजको रेखा अर्थात २७०४ को विन्दुबाट बजार कारोबार र भोल्यूम सहित माथि लागेमा थप निश्चित हुनेछ । तर ३ हजार विन्दुबाट खसेको बजारमा करिब २५ सय आसपास आएर पुनःसम्हालिएको भने निश्चित हो । यस हिसाबले प्राविधिक रुपमा विभिन्न औजार मार्फत यो साता बजार सम्हालिन खोजेको देखिन्छ । आगामी साताहरुमा यदि बजारले हायर हाई र हायर लोका सिरिजहरु बनाउँदै माथि लागेको खण्डमा अप ट्रेन्ड लियो भन्न सकिन्छ । जसका लागि यो साता २६५२ को विन्दुमा बन्द भएको बजार आगामी साता २७ सय विन्दुमाथि भने टिक्नु पर्नेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।