काठमाण्डौ । इटहरीस्थित सवारी परीक्षण कार्यालयमा व्यापक अनियमितता र घुस प्रकरणमा संलग्न भएको आरोप लागेपछि कार्यालय प्रमुख तथा लेखापाललाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई तत्काल प्रभावबाट पदमुक्त गरी मन्त्रालय तानेको हो। सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक दुःख दिने जस्ता उजुरीहरू मन्त्री कुलमान घिसिङसम्म पुगेपछि उनीहरूलाई कारबाही स्वरूप हटाइएको हो।
मन्त्रालयका अनुसार, देव र बस्नेतको मिलेमतोमा राजस्व हिनामिना भएको गम्भीर आशंका समेत छ। सेवाग्राहीहरूले कागजातसहितको प्रमाणसहित मन्त्रालयमा उजुरी पेश गरेपछि मन्त्री घिसिङले तत्काल कारबाहीका लागि निर्देशन दिएका थिए।
पाँच सदस्यीय छानबिन समिति गठन
मन्त्री घिसिङले यस घटनाको छानबिन गर्न मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन्। समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ।
समितिलाई आरोपित कर्मचारीसँग बयान लिन, सेवाग्राहीसँग बुझ्ने, कागजात अध्ययन गर्ने र आवश्यक कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ।
संवेदनशील कार्यालयमा शंका
इटहरी सवारी परीक्षण कार्यालयले अन्तरप्रादेशिक सार्वजनिक सवारी साधनको मार्ग इजाजतपत्र जारी गर्ने, सवारीको जाँचपास गर्ने, स्तर कायम गर्ने तथा प्रदूषण परीक्षण जस्ता संवेदनशील कार्य गर्ने गर्छ। यस्ता महत्त्वपूर्ण सेवामा संलग्न कर्मचारीहरूकै मिलेमतोमा अनियमितता भएको गुनासो आउनु उपभोक्ताका लागि चिन्ताजनक भएको मन्त्री घिसिङले बताएका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                