काठमाण्डौ । तिहार अघि अब जम्मा ९ दिन मात्रै सेयर कारोबार हुने भएको छ । दशैंको बिदापश्चात आइतबारबाट सेयरबजार खुल्ने तय भएकोमा सरकारले अविरल वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिएका कारण मंगलबारबाट सेयर बजार खुल्दैछ ।
यो साता अब जम्मा तीन दिन सेयर कारोबार हुनेछ। त्यसैगरि, आगामी साता सेयर बजार पाँच दिन नै हुने छ भने त्यस पछिको साता एक दिन आइतबार सेयर कारोबार हुनेछ । तिहारको बिदापश्चात कार्तिक ९ गते मात्रै सेयरबजार खुल्नेछ । यस हिसाबले तिहार अघि जम्मा ९ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।
कस्तो रहला यो बीचमा सेयर बजार ?
बिगतका वर्षहरुलाई नियाल्ने हो भने यो दशैं तिहारको बीचमा सेयरबजारमा ठूलो उथलपुथल भएको पाइदैन । लगानीकर्ताहरु फेस्टिभ मूडमा रहने हुँदा यो समयमा बजारमा खासै मुभमेन्ट देखिदैन । यो बीचमा खासै नीतिगत पिरवतर्न पनि हुने गर्दैनन् । यसपटक लगानीकर्ताहरु केही समय पहिले अर्थमन्त्रालयले बनाएको धितोपत्र बजार सुधार कार्यदलले दिएका सुझावमा बढी नै आशाबादी देखिन्छन् । जसको कार्यान्वयनका लागि दबाब दिन पनि लगानीकर्ताहरु छलफलमा जुट्दै छन् ।
खासगरि नीतिगत रुपमा कार्यदलले दिएका सुझावहरु कार्यान्वयनका लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षा नै आवश्यक देखिन्छ । जुन विषय नेपाल राष्ट बैंकले कहिले ल्याउँछ त्यसमा नै भर पर्ने गर्छ । चाडपर्वको बीचमा नियामक निकायले नीतिगत परिवर्तन कमै गर्ने गर्छन् ।
नेप्से र सेबोनमा भाँडभैलो
केही समय पहिले अर्थमन्त्रालयले धितोपत्र बोर्डका कर्मचारीहरुले खाँदै आएका केही सेवा सुविधा काटिदिए पछि बोर्डमा कर्मचारीहरु आन्दोलित छन् । त्यसैगरि नेप्सेमा पनि बोनसको विषयले सीईओलाई निषेधसम्मका कार्यक्रम चल्दै आएका छन् । हाल नेप्से र सेबोनमा भाँडभैलो नै चलेको छ । यस कारण अहिले नै लगानीकर्ताहरुको माग नियामकबाट तदारुकताका साथ सम्बोधन हुने सम्भवना कमै देखिन्छ ।
कस्तो छ ब्रोकर हाउसहरुको माहोल ?
राजधानी लगायत मोफसलका ठूला ब्रोकर हाउसहरुमा दशैं अघि राम्रै माहोल देखिन्थ्यो । केही ब्रोकर तथा लगानीकर्ताहरुले यो बीचमा धितोपत्र बजार सुधार कार्यदलले दिएका सुझाव कार्यान्यवनमा जाने र सेयर बजारले फड्को मार्ने दाबी गरेको पनि सुनिन्छ ।
जुन विगतमा पनि सुनिने विषय नै हुन् । यस कारण यो ९ दिनमा सेयर बजारमा ठूलो उथलपुथल भन्दा पनि सामान्य हिसाबले नै सेयर कारोबार हुने सम्भावना बढी रहन्छ । तर लगानीकर्ताहरुले अपनाउने रणनीतिका आधारमा बजारको दिशा तय गर्नेछ ।