काठमाण्डौ। नेपाली सेयर बजारमा पछिल्लो समय खासै आकर्षण देखिएको छैन । बजारमा बिस्तारै चमक हराउँदै गएको छ । सीडीएससीको तथ्यांकअनुसार ७१ लाख डीम्याट होल्डर रहेका छन् । अहिले अनलाइन प्रविधि भएपछि पूतलीसडकमा मात्रै सीमित भएको सेयरबजार नेपाली पुगेका संसारका कुना–कुनामा पुृगेको छ । विदेशबाट पनि सेयर कारोबार गर्नेहरुको जमात बढेको छ । खासगरि दक्षिण कोरिया तथा जापान लगायतका देशहरुबाट पनि नेपालीहरुले सेयर कारोबार गरको देखिन्छ । तर यतिबेला सेयर बजारले लगानीकर्ताहरुलाई निकै अत्याएको छ । हाल राष्ट्र बैंकको तथ्यांकअनुसार एक खर्ब ४५ अर्ब सेयर कर्जा पुगेको छ । जुन अघिल्लो बुलको भन्दा २० अर्बले बढी हो ।
अहिले नियामक निकायका नीतिहरु पनि निकै नरम बन्दै गरेको देखिन्छ । राष्ट्र बैंकले एकपछि अर्को नीतिमा सहज गरेको छ । लगानीकर्ताहरुको माग अनुसार नै अहिलेसम्म लाग्दै आएको २५ कारोडको क्याप पनि हटेको छ । लगानीकर्ताहरुकै माग अनुसार केही समय पहिले लागू गरेको अन्तिम १५ मिनेटको भारित औषत गणना विधि पनि हटाएको छ ।
नयाँ अर्थमन्त्री आएसँगै पूँजीबजार सुधारको लागि एक कार्यदलले सुझाव पनि पेश गरेको छ । ती सुझावहरु केही कार्यान्वयनमा पनि गएका छन् । केही सुझावहरु धितोपत्र बोर्डले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अहिले इतिहासमा कै न्यून ब्याजदर , मूद्रास्फीति र तरलता रहेको छ । तर सेयर बजार साढे २ महिनादेखि ३ हजारको विन्दुबाट खसेको खस्यै छ । गत असार १३ गते ३ हजार विन्दु माथी टिकेको सेयर बजारमा २६ अर्ब ५७ करोडको सेयर कारोबार भएको थियो । तर त्यसपछि लगातार खसेको सेयर बजारमा आजसम्म आइपुग्दा नेप्से २५०५ विन्दुमा झरेको छ ।
यो भनेको बजार पछिल्लो उच्च विन्दुबाट १७ प्रतिशतले खसिसकेको छ । कारोबार जम्मा ३ अर्बमा सीमित भएको छ । यो कारोबार भनेको गत असोज २९ गते पछि कै न्यून हो । त्यो समयमा कारोबार जम्मा ३ अर्ब ६ करोडमा सीमित भएको थियो । त्यसपछि आज सेयर कारोबार ३ अर्ब १० करोडममा सीमित भएको छ ।
यसरी सेयर बजार र कारोबार निरन्तर घट्नुलाई सेयर बजारमा चमक हराँउदै गरेको विश्लेषकहरुको ठहर रहेको छ । केही विश्लेषकहरुले अहिले लगानीकर्ताहरु अस्थिर राजनीतिक अबस्थाले गर्दा सुन तथा चाँदीमा आकर्षित भएको अनुमान पनि गर्दै आएका छन् । प्रायः विश्वभर संसारमा हुने पनि यहि नै हो । जब–जब राजनीतिक तथा आर्थिक संकट गहिरिदै जान्छ लगानीकर्ताहरुको कमोडिटिज अर्थात सुन तथा तेलमा आकिर्षत हुने गर्छन । पछिल्लो समय नेपालको सेयर बजारमा पनि त्यही सम्भावना पनि नर्कान सकिदैन ।
किनकी अहिले सेयरमा लगानी गर्नेहरु अधिकांश विदेशबाट कारोबार गर्नेहरु छन् । विदेशबाट कारोबार गर्नेहरु नेपालको सेयर बजारमा भविश्य नदेखेपछि त्यहाँकै बजार वा सुनमा आकर्षित भएका पनि हुन सक्छन् ।
के प्रतिक्षा गरिरहेका छन् नेपालका लगानीकर्ताहरु ?
सबै माहोल सकारात्मक हुँदा–हुँदै पनि पछिल्लो समय नेपालमा जेनजीको आन्दोलनले साना तथा ठूला सबै लगानीकर्ताहरुलाई निकै झस्काएको छ । अन्य व्यापार व्यबसायमा पनि असर गरेको देखिन्छ । त्यसैगरि, बाढी पहिरोले जलविद्युत क्षेत्रलाई पनि असर गरेको छ । यसरी एकपछि अर्को आर्थिक तथा व्यापारिक क्षेत्रमा नोक्सान भएपछि त्यसको असर बीमा लगाएत अन्य सबै क्षेत्रमा परेको छ ।
जसको वास्तविक क्षति कति भयो ? त्यसको असर कहिलेसम्म रहन्छ ? भन्ने लागनीकर्ताहरुमा अन्यौलता रहेको छ । यहि कारण पनि हाल सेयर बजारले गति लिन सकेको छैन । जानकारहरुका अनुसार अहिले लगानीकर्ताहरु राजनीतिक परिदृष्यकै प्रतिक्षामा छन् । सरकारले चुनावको मिति घोषणा गरको छ । तर सबै राजनीति दलहरुले अहिले नै चुनावमा जाने प्रतिबद्धता जनाइ हालेको अवस्था छैन । बजारमा केही ब्रोकरहरुले हाल घोषणा भएको चुनाव कुनै समयमा कमल थापाले घोषणा गरेको चुनाव जस्तै गरि राजनीतिक दलहरुले बहिष्कार गरेर अगाडी बढ्ने हुन कि भन्ने शंका पनि बजार देखिन्छ । यसकारण अहिले सेयर लगानीकर्ताहरुले राजनीतिक प्रष्ट दिशाको प्रतिक्षामा रहेको देखिन्छन् ।