काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको तीन महिनामै साढे १२ अर्ब प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार असोज मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले १२ अर्ब ६५ करापेड ६४ लाख रुपैयाँ प्रिमिमय संकलन गरेका हुन् ।
यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ११.१४ प्रतिशत बढी हो । गत आवको तीन महिनामा निर्जीवन बीमकहरुले ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म आइपुग्दा दुई कम्पनीको मात्रै व्यवसाय घटेको छ भने बाँकी सबैले उल्लेख्य बढाएका छन् ।
पहिलो त्रैमाससम्म सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
त्यस्तै, शिखरले १ अर्ब ३८ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब २२ करोड, हिमालयन एभरेष्टले १ अर्ब १९ करोड, एनएलजीले १ अर्ब २ करोड, आइजीआई प्रुडेन्सियलले ९९ करोड ६ लाख, नेकोले ९२ करोड ८३ लाख, युनाइटेड अजोडले ८८ करोड २९ लाख, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख, सानिमा जिआइसीले ६८ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

गत आवको सोही अवधिसम्मको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी व्यवसाय बढाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीले ३६.३५ प्रतिशतले व्यवसाय बढाएको छ । साथै राष्ट्रिय बीमा कम्पनी र दि ओरियन्टल इन्स्योरेन्सको भने घटेको छ ।

