काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको आम्दानीमा संकुचन आउदा नाफा प्रभावित बनेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले यो अवधिमा २ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.०२ प्रतिशतले कम हो ।
यस्तै कम्पनीको खुद मुनाफामा समेत ४३.०६ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा भने ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको कुल खर्च पनि १.३८ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ रहेको कम्पनीको खर्च बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको रिटेन्ट अर्निङ २.९१ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको) १८८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६००३ रुपैयाँ र तरलता अनुपात २.५४ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा कम्पनीको ईपीएस २०९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५८३६ रुपैयाँ थियो ।

