काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को पुनर्संरचनाका लागि गठित समितिले कामको थालनी गरेको छ । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित ५ सदस्यीय अध्ययन समिति सोमबारबाट काम थालेको हो ।
समितिका सम्पूर्ण सदस्यले आज जिम्मेवारी सहितको पत्र पाएसँगै पूर्णता पाएको समिति आजैबाट काममा लागेको हो । नेपाल स्टक एक्सचेन्जबाट मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकबाट सुभाषचन्द्र घिमिरे, नेपाल धितोपत्र बोर्डबाट रुपेश केसी र विज्ञ सदस्यका रुपमा धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरिले आज जिम्मेवारी सहितको पत्र बुझेका हुन्।
समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् । समितिले पूर्णता पाएसँगै आज समितिका सदस्यबीच छलफल समेत भएको छ । अध्ययन समितिले ५० दिनभित्र प्रतिवेदन पेश गर्नु पर्नेछ ।

