काठमाण्डौ । देशमा गत असोज १८ गते यताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिका लागि हालसम्म १ करोड ८८ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७८१ वटा प्रारम्भिक बीमा दाबीको ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ६७ वटा दाबीको कुल दाबी रकम १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको हो ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिब ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कुल २० वटा बीमा दाबीको करिव ८३ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव ५० करोड ३७ लाखमध्ये कुल ६ वटा दाबीको करिव २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाखमध्ये कुल ३१ दाबीको १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव रू. ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव रू. ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यसैगरी, सामुद्रिक बीमातर्फ ३ वटा बीमा दाबीको करिव रू. १० लाख बीमा दाबीमध्ये एउटा दाबीको करिव रू. ३ लाख दाबी रकम बीमितलाई भुक्तानी भएको छ भने मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रू. १ करोड ८ लाख र लघुबीमातर्फ २ वटा दाबीको करिव रू. १२ लाख बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

