काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदनको ओइरो लागेको छ । विवादास्पद बनेको कम्पनीको आइपीओमा सर्वसाधारणले आइपीओ भर्न न्यूनतम ४१ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ ।
कम्पनीले प्रतिसेयर ८२० रुपैयाँ ८० पैसा तोकेको आइपीओमा सर्वसाधारणहरुको आवेदनको ओइरो परेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइपीओ खुलेको चौथो दिनसम्म कम्पनीको आइपीओमा २२ गुणा बढी आवेदन परिसकेको छ ।
सिडिएससीका अनुसार आज बिहानसम्मका कम्पनीको आइपीओमा १६ अर्ब ९८ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८७ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो आवेदन मागभन्दा २२.३७ गुणा बढी हो ।
कम्पनीले पुष ७ गतेदेखि सर्वसाधारणहरुका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको सेयरमा ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूतम आवेदन दिदा पनि ४१ हजार रुपैयाँ हाल्नुपर्ने देखिन्छ । महँगो आइपीओमा पनि सर्वसाधारणले भने आँखा चिम्लेरै आवेदन दिइरहेका छन् ।
यो आइपीओमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ’मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्

